सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ लकडाउन भएदेखि नै पीडितहरुको घाउमा मल्हम लगाउन तल्लिन छन् । नेपाल सरकारले कोरोनाको महामारी फैलिन नदिनका लागि भन्दै २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गरेको थियो । पहिले एक साताका लागि भनेर गरिएको लकडाउन पटक–पटक लम्बियो । लकडाउनका कारण दुःख र पिडामा परेर सडकमा पुगेका व्यक्तिहरुको मुख जोर्ने काम गरेका प्रदिप घिमिरेले लकडाउन पछिको पाँच वर्षको अन्तरालमा झन्डै चार लाखलाई खाना खुवाइसकेका छन् । पहिले आफ्नै बलबुताले खाना खुवाउँदै आएका घिमिरेलाई पछि–पछि भने सहयोगी मनहरुलले सहयोग गरेका थिए । सबैको साथ र सहयोग पाएका घिमिरेले अहिले पनि अप्ठेरोमा परेर खान नपाएकाहरुलाई खाना खुवाउँदै आएका छन् । उनै समाजसेवी घिमिरेले गरेको काम र समाजसेवाका बारेमा अर्जुन प्रधानसंग गरिएको कुराकानीको सम्पादित अंशः
० तपाईंले खाना खुवाउन कहिलेदेखि शुरु गर्नु भएको हो र ?
– संसारभर कोरोना भाइरस आक्रान्त बन्दै गएपछि विना तयारी नै नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्यो । एक हप्ता पनि वित्न नपाउँदै त्यसको प्रत्यक्ष असर उपत्यकालगायत देशभर नै देखिन थालिसकेको थियो । जसले गर्दा मैले २०७६ चैत्र १६ गतेदेखि ड्राइफुड तथा खाद्यान्न सामग्री र चैत्र २९ गतेबाट नियमित भोजन सेवा शुरु गरेको थिएँ ।
० तपाईंमा कसरी खाना खुवाउने चाहना पलायो ?
– सबै भन्दा पहिला लकडाउनले मूख्य रुपमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक वर्गको रोजीरोटी खोस्यो । काम विहिन बनेका तमाम श्रमिक वर्ग जब खाना खान नपाएर सडकमै भोक भोकै तड्पिएको आफ्नै आँखाले देख्ने र भोग्ने अवस्थाको श्रृजना भयो, तब मेरो दिमाखमा भोका पेटलाई कसरी भरण पोषण गर्न सकिएला भन्ने सोच पलायो । अनि त्यसै रातबाट आफ्नै कोठाबाट भोजन बनाएर लिएर गएँ । त्यसपछिको भोजन सेवा कार्य अहिलेसम्म निरन्तर जारी छ ।
० हालसम्म कतिलाई खाने कुरा खुवाउनु भयो, तथ्यांक छ ?
– लकडाउन सुरु भएदेखि हालसम्म झण्डै चार लाख जतिको भोक मेटाएको छु ।
० खना खुवाउँदा कस्ता व्यक्तिहरुलाई प्राथमिकतामा राख्नु भयो ?
– मूख्य गरेर अपाङ्गता भएका व्यक्तिहरु, श्रमिक, एकल महिला, वृद्धवृद्धा, दीर्घरोगी, मुटु रोगी, मृगौला रोगी, सुत्केरी, घरवार विहीन बनेर सडक पेटी, पुल मुनी र ढलको पाइपभित्र जीवन गुजार्न बाध्य भएका व्यक्तिहरुलाई नै उच्च प्राथमिकतामा राखेर खाना खुवाउने कार्यक्रम निरन्तर जारी छ ।
० पाँच वर्षसम्म खाना खुवाउँदा कस्ता–कस्ता व्यक्तिहरु भेट्नु भयो ?
– पाँच वर्ष भरिमा खाना खुवाउने क्रममा त्यस्ता व्यक्तिहरुसँग भेट भयो, जसलाई मैले यस अघिको जीवनमा यति धेरै गहन तरिकाले मानिसको सामान्य जनजीवन पहिल्याउन सकेको रहेनछु । त्यसको अनुभूत मलाई भयो । बाहिर मुस्कान लिएर हिँडेका मानिस एक छाक खाना नखाई कसरी हिँड्दो रहेछ भन्ने कुरा नजिकबाट नियाल्ने अवसर मिल्यो । छ दिनदेखि निरन्तर खाना नखाई दुई चार घुट्की पानीले जीवन धानेका व्यक्ति पनि भेटियो । न घर, न परिवार, न इष्टमित्र, न छरछिमेक, सडकमा बस्ने कुकुरलाई नै आफ्नो परम मित्र मानेर अत्यन्तै नाजुक जीवन जीउने व्यक्तिहरु पनि भेटिए ।
बस्ने ठाँउ कतै नभएर पुलमुनी, ढलको पाइपमुनी, चिसो सडक पेटीमा र देवालय तथा शिवालय, पाटी, पौवाको आडमा आश्रय लिएर बस्ने व्यक्तिहरु पनि भेटिए । कोठा भोडा तिर्न नसकेर घर धनीले निकालेर सडक पेटीमा बस्न आउने व्यक्तिहरु पनि भेटिए । शारीरिक रुपमा अशक्त भएर पनि पीडा लुकाई श्रम गर्ने जेष्ठ नागरिक समेत भेटिए । रोगले ग्रस्त अवस्थामा पारासिटामोलसम्म खान नसक्ने अवस्थाका व्यक्तिहरु पनि भेटिए । खाना खान नपाए फोहोरमा भेटिएका भातका सिता खोजेर खाने पनि भेटिए ।
विष्णुमती खोलाको फोहोर पानी खाँदै गरेको पनि भटिए । कोभिड–१९ को परीक्षण र नतिजा पोजेटिभ आएको रिपोर्ट हातमा बोकेर अस्पताल धाउँदा पनि उपचार नपाएका व्यक्ति पनि भेटिए । कोरोना लागेर पनि उपचार नपाएर मैतिदेवीको सडक पेटीमा बस्न विवस बारा निजगडका सोमबहादुर लामाजस्ता व्यक्तिलाई पनि भेटे । जो मैतिदेवीको सडक पेटीमा समूहमा बस्थे । जसलाई उद्धार गरी उपचार पछि निको भएर घर पठाएँ । घरमा परिवार र छिमेकीले छिछी र दुर्दुर गरेपछि पैदल काठमाडौैं आएका उनीलाई रोजगारीको प्रवन्ध गराई पुर्नस्थापना गराएँ ।
० तपाईंले गर्नुभएको यो सामाजिक सेवाको प्रेरणाको स्रोत चाहिं कसलाई मान्नुहुन्छ नि ?
– मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत सर्वप्रथम त देवाद्यदेव शिव भगवानलाई दिन चाहन्छु । मेरो अन्तर्मनमा भगवान् विराजमान हुनुहुन्छ । म त केवल कर्ता मात्र हो । मलाई चलाउने, मलाई अराउने स्वयं भगवन् शिव हुनुहुन्छ । उहाँ मैले पुज्ने गरेको देवाता पनि हो । त्यसपछि यो पुण्य कार्य गर्न स्वदेश तथा विदेशदेखी प्रत्यक्ष रुपमा साथ सहयोग प्रदान गर्नुहुने समस्त भगवानरुपी मनहरुलाई सम्झन चाहन्छु । उहाँहरु पनि मेरो लागि दोश्रो साक्षात भगवान् हो । म केवल म नभएर विश्वभर छरिएर रहनुभएका भगवानरुपी मनहरुको सेवक हो । म आफैंमा केही होइन । कोरोनाको समयदेखी मैले दिन दिनै कारुणीक दृष्य देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।
० खाना खुवाउनको लागि आर्थिक पाटो कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
– सुरुका केही दिनहरुमा आफ्नै उपलब्ध श्रोत र साधनहरुलाई उच्चतम उपयोग गरी सानो–सानो समूहलाई आवश्यकता अनुसारको सहयोग सुरु गरें, अनि पीडितहरुको संख्या बढ्दै जान सुरु भयो । मेरो निरन्तर प्रयासलाई इष्टमित्र, छरछिमेक, साथीभाई र सहयोगी मनहरुको साथ मिल्दै गयो र यो कार्यलाई निरन्तरता दिन सहजता हुँदै गयो । यद्यपी यो कार्य जारी छ ।
० विभिन्न व्यक्तिबाट सहयोग पाएको बताउनु भयो, सहयोग तपाईले माग्नु भएको कि उहाँहरुले स्वतस्फूर्त उपलबध गराउनु भएको हो ?
– मैले यस अघि नै चर्चा गरेझैं जब म पूर्ण मनोभावका साथ यो अभियानमा समाहित भएँ । मेरो कार्य र त्यसले पुर्याएको परिणामलाई नजिकैबाट बुझेका व्यक्ति तथा संघ संस्थाले स्वस्फूर्त रुपमा यस कार्यलाई अपनत्व लिँदै साथ र सहयोग दिन थाल्नुभयो ।
० सहयोगी ति मनहरुलाई के भन्न चाहनुहुन्छ ?
– परोपकार पूण्यायः भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका असहाय वर्गले दुई छाक खाना खान पाएपछि पलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर भजन सेवा अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद दिनुहुने तमाम सहयोगी मनहरुप्रति म हृदय देखी नै नमन गर्न चाहन्छ । उहाँहरुको साथ सहयोगले यो पुण्य कार्य अहिलेसम्म सम्भव भएको छ । म पुनः समस्त सहयोगी मनहरुप्रति शिर निहुर्याएर हार्दिक नमन गर्दछु ।
० यो भोजन सेवा कार्यलाई कहिलेसम्म निरन्तरता दिने सोच बनाउनु भएको छ ?
– हालसम्म पनि मैले यो कार्यलाई निरन्तरता दिई रहेको छु । विश्वव्यापी फैलिएको आर्थिक मन्दिका कारण मलाईं असाध्यै चिन्ता लागेको छ, मेरो भौतिक शरीरले साथ दिउञ्जेल यो कार्यलाई निरन्तरता दिने सोच बनाएको छु ।
० तपाईं कुनै संस्थामा अवद्ध हुनुहुन्छ ?
– हाल भोटुः इन्दिरा समाज कल्याण संस्थामा आवद्ध छु । उक्त संस्थामा सचिवको कार्यभार सम्हालिरहेको छु । यसै संस्थाद्वारा हामीले फुड बैंक नेपाल सञ्चालन गरेका छौं । जसले भोजन सेवा गराउने काम गर्दछ ।
० तपाईं काममा विशेष कसको साथ रहेको छ ?
यस भोजन सेवा कार्यमा स्वदेश तथा विदेशमा आसिन समस्त सहयोगी मनहरुको अत्यन्तै ठूलो साथ र सहयोग रहँदै आएको छ ।
० तपाई आफूले आफैलाई कस्तो ब्यक्ति भन्न रुचाउनु हुन्छ ?
– म आफैंलाई त एक साधारण व्यक्ति भन्न रुचाउँछु र सबै मानवका आधारभूत मानवीय आवश्यकता समान हुन्छन् भन्ने कुरा सबैले बुझिदियोस् भन्ने इच्छा राख्दछु । जीवन क्षणिक छ । संसारमा भएका जीवत आत्माहरुले एक दिन यो भौतिक शरीर यसै धर्तिमा छाडेर जानु पर्दछ । बाँचुन्जेल असल व्यक्ति बनेर जीवित प्राणीहरुलाई पनि जीवन अस्तित्वको रुपमा स्वीकार गर्ने मनोभाव बनाऊँ यही भन्न चाहन्छु । उनीहरुको पनि यस धर्तीमा बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गरौं ।
० तपाइँहरुले सञ्चालनमा ल्याउनुभएको पवित्र दान मध्येको सबैभन्दा ठूलो दान मानिने भोजन सेवा कार्यमा नेपाल सरकार तथा स्थानीय सरकारले यो कार्य गरेको भए हुन्थ्यो भन्ने केही लागेको छ ?
– सुरु सुरुमा सरकारसँग केही आशा र अपेक्षा गरेको हो । किन भने राज्य र सरकार आम नागरिकहरुको अभिभावक पनि हो । तसर्थ यो अपेक्षा राख्नु नौलो भएन । सरकार भन्नु र व्यक्तिहरु फरक हुन् । तर, हाम्रो देशमा सरकार चलाउने व्यक्तिहरु राजनेता भएनन् । राजनीति गर्ने राजनीतिकर्मी त भए, तर नेता भएनन् । त्यसैले यो अपेक्षा बालुवामा पानी नै भयो । तब म जस्ता हजारौं मन पीडितहरुलाई मलम लगाउन अघि सर्नू पर्ने बाध्यता आई लाग्यो । सरकारले गरेको भए त हामीले किन यसरी अहोरात्र खटिरहनु पर्थ्यो र ? त्यसकारण म कसैलाई दोष दिन चाहन्न । मैले गर्न पाएँ । म यसैमा खुसी छु । यो काम सबैलाई गर्न पाउने सौभाग्य पनि हुँदैन । मेरो लागि यो अहोभाग्य हो ।
० अन्त्यमा समस्त सहयोगी मनहरुलाई के भन्न चाहनुहुन्छ ?
– यस विसम परिस्थिति चाँडै अन्त्य होला भन्ने अपेक्षा थियो । अपशोच पाँच वर्षसम्म आइपुग्दा पनि अवस्था अत्यन्तै सोचेजस्तो छैन । पीडितहरुको व्यथा वर्णन गरी साध्य छैन । लाखौंको संख्यामा मानिसहरुको रोजगारी गुमेर बेरोजगार भएका छन् । आर्थिक अवस्था नाजुक छ । उद्योग कलकारखाना लडखडाएका छन् । व्यापार व्यवसाय चौपट छ । स्वदेशमा पनि होटल, स्कुल, कलेज, पर्यटन, कृषिलगायत समग्र क्षेत्र अस्तव्यस्त रहेको छ ।
मानिसहरु दिन दाहाडै संसदभवन अगाडी आफैंले आफैंलाई आगो लगाएर आत्महत्या गर्न विवष भएका छन् । सवै सबैबाट ठगिएका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको उस्तै बिचल्ली भएको छ । समस्या चाल्नो जस्तो भएको छ । अवस्था आशाजनक हुनुपर्नेमा निराशाजनक छ । के भन्ने र खै । भनि साध्य छैन । कसलाई दोष दिनु र ? सर्वप्रथम त हामी आफैं सुध्रिन आवश्यक ठान्दछु । सबैले सकारात्मक सोच राखौं, परिवर्तन सम्भव छ । यसको सुरुवात हामी आफैबाट गरौं भन्न चाहन्छु ।
यस्तो विसम परिस्थितिका बाबजुत पनि निरन्तर हाम्रो अभियानमा जोडिएर साथ, सहयोग, हौसला,उर्जा, प्रेरणा र आशिर्वाद दिनुहुने समस्त सहयोगी मनहरुलाई शिर निहुर्याएर हार्दिक–हार्दिक आभार व्यक्त गर्दै शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै पुनः हार्दिक आभार व्यक्त गर्दै निरन्तर साथ सहयोग र हौसलाको अपेक्षा गर्दछु । सबैको जय होस् ।