राष्ट्रपतिमा पूर्वसभामुख रामचन्द्र पौडेल र सुवास नेम्वाङको प्रतिस्पर्धा

0
224

काठमाडौं। नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन ।

संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

यस्तै नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेसँगै एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर उम्मेदवारी दर्ता गराएको हुन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

दुवै उम्मेदवार पूर्व सभामुख हुन्। पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख भएका थिए। सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए। उनले २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए। दुबै संविधानसभामा पनि उहाँले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे।

उम्मेदवारी दिएपनि राष्ट्रपति पाउनका लागि दुबै दलले अकअर्काप्रति आश देखाएका छन् । हिजोका दिनमा राष्ट्रपति दलको निर्देशनमा चलेको आरोप लगाउँदै आएका दलहरु महत्वपूणर् संवैधानिक पद हात पार्न राष्ट्रिय सहमतिको सम्भावनालाई अँझै गलाईसकेका छैनन् ।

एमालेका उम्मेदवार नेम्वाङ आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्नेमा आशावादी देखिएका छन्। पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताउदै राष्ट्रिय सहमति आफूमै हुनसक्ने बताए।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पनि आफूलाई सर्वसहमतिको राष्ट्रपति बनाउन एमालेले सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्। पौडेलले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने बताए।

राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन् ।

संघीय संसद्का ३ सय ३२ र प्रदेश सभामा ५ सय ५० गरी ८ सय ८२ जनाले मतदान गर्नेछन् । संघीय सांसद र प्रदेश सभाका सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । उनीहरूको मतभार पनि फरक-फरक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here