काठमाडौं। राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरुको दौडधुप बाक्लिएको छ । उम्मेदवारी मनोनयका लागि निर्वाचन आयोगले १३ गतेको समय तोकेको छ । तर, कुनैपनि पार्टीले उम्मेदवारको टुंगो नगाउन नसक्दा राष्ट्रपति निर्वाचनमा कसको पल्ला भारी हुने हो त्यो भने हेर्न बाँकी छ ।
अहिले नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताईरहेका छन् । माओवादी केन्द्र राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत राष्ट्रिपतिमा आकांक्षा देखाएका छन्। नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताए।
लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन दाङ-देउखुरी पुगेका बेला पत्रकार भेटघाटमा नेपालले अरुको निम्ति मात्रै आफूहरुले सधैं बलिदानी दिईरहने र त्यसको फाईदा भने अरुले नै लिईरहने हुन नसक्ने बताएका हुन्। राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे खासै नखुलेका नेपालले त्यसबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए। । राष्ट्रपतिबारे के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता पनि नेपालले औल्याएका हुन्।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । दुई नेताबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको बुझिएको छ ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनीहरुले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको नेता शुक्लले बताए।