राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई, स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य!

0
139

काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निणर्य लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले सो निणर्य गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए।

राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ । बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।

प्रवक्ता महराले गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय आफूहरुका स्वार्थ रहेकाले स्वार्थ मिल्नेहरुसंग सहकार्य गर्ने निश्कर्ष निकालेको बताए।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरुको दौडधुप तीव्र बनेको छ । उम्मेदवारी मनोनयका लागि निर्वाचन आयोगले १३ गतेको समय तोकेको छ । तर, कुनैपनि पार्टीले उम्मेदवारको टुंगो लगाएका छैन । बरु एक पार्टीले अर्को पार्टीको निणर्य कुरिरहेका छन् ।

अहिले नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताईरहेका छन् । राष्ट्रपति निर्वाचनकै विषयलाई लिएर दिनहुजसो छलफल भइरहेको छ ।

फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् । एउटा पदका लागि दलहरुबीच हानथाप तथा दल भित्र पनि आकांक्षी बढ्दा राष्ट्रपति चयनको विषय सहज देखिदैन । 

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा आकांक्षा देखाएका छन्। प्रधानमन्त्रीसंग भएको छलफलमा नेपालले राष्ट्रिय सहमतिको राष्ट्रपति आफूलाई बनाउन आग्रह गरेका हुन्।

 एमाले र कांग्रेसले एक अर्कालाई राष्ट्रपतिमा स्वीकार नगरिरहेको अवस्थामा यो प्रस्ताव प्रचण्डका लागि मध्यमार्गी बाटो हुने आँकलन गरिएको छ । राष्ट्रपतिका लागि सम्भावित समीकरणमा ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्नसक्ने चर्चा समेत चुलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here