काठमाडौं। झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा आएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज पनि केहीबेरअघि नै अवतरण गरेको छ ।
शनिबार दिउँसो साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि करिव ३ घण्टा देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएका थिए । अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भएको छ ।
सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन् । आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताएका छन् ।
सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकार गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको जानकारी दिए।
उनले प्राविधिकहरूले समस्या समाधान गरिरहेको भए पनि के कारणले त्यसो भएको एकीन हुन नसकेको उल्लेख गरे।