सर्वोच्चलाई लिखित जवाफ दिँदै गृहमन्त्रीले भने, ‘म नेपाली नागरिक नै हुँ’

0
128

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन्। लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको हो ।

जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गरेका छन्। उनले २०७० मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गरेका छन्।  

अन्तरिम आदेशका लागि छलफलमा उहाँका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर गरे। उनले आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत बताए।

लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुन पर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियमा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गरेका छन्।

संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा ११ गते लाई अन्तिम सुनुवाएको पेसी तोकिएको छ ।

उनले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने पनि उल्लेख गरेका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here