प्रतिनिधिसभाः पहिलो बैठकमा कसले के भने? 

0
147

संघीय संसदको दुवै सदनको अधिवेशन सोबारदेखि सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा  गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताए। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताए।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताए। राष्ट्रका आवश्यकताका बारेमा विवेकपूणर् निणर्य लिन आफुहरु सक्षम हुनुपर्ने बताउदै प्रचण्डले सहमतिमा मात्र नभई मतभेदमा पनि मर्यादा हुनेमा विश्वास व्यक्त गरे। 

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरे। प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिंदै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए। 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । ओलीले धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउदै देशलाई पछाडी जानबाट रोक्न सबैको दायीत्व भएको बताए। 

देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,सामाजिक विभेद अन्त्य लगायतका चुनौति रहेको उनको भनाई छ । बैठकमा धेरै राजनीतिक बिषयमा टिप्पणी नगर्ने बताएका अध्यक्ष ओलीले प्रतिनिधिसभा विगठन भएर चुनाव घोषणा हुन प्रतिगमन नभएको समेत जिकीर गरे। 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशाको मत नभइ आशाको मत भएको दाबी गरे। मन्त्री लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए। 

लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने समेत बताए। भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको उनले स्पष्ट पार्दै कसैका आसेपासे छुटाउनका लागि आफूलाई दवाव सृजना नगरिदिन आग्रह गरे। 

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका छन्। राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। 

बैठकमा बोल्दै एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले जनताले परिवर्तनको अनुभूति गर्न सक्ने गरी काम गर्न सरकारलाई सुझाव दिएका छन् । 

त्यस्तै,जनमत पार्टीका अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउतले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताए।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दल, तिनका कार्यकर्ता, सांसदप्रति जनताको कुनै आशा नरहेको दाबी गरे।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार विहान ११ बजे बस्ने तय भएको छ । भोलिको बैठकमा संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।

छेडियो संसद विघटनको वहश
आजको प्रतिनिधिसभा बैठकमा २०७६ पुष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको वहश छेडिएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले जनतामाझ जानु प्रतिगमन नभएको बताउदै प्रतिगमन भन्नेहरु प्रतिगामी भएको बताएका थिए।

उनको त्यो संकेत नेकपा माओवादी र काग्रेसतर्फ थियो । त्यसलाई कतिपय नेताहरुले ओली र प्रधानमन्त्री प्रचण्डबीच विग्रह सुरु भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसंग बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको जिकीर गरे। यसैबीचमा सरकारको स्थिरताको चुनौतीमाथि थप चुनौती थपिनसक्ने उनको बुझाई छ ।

प्रतिनिधिसभा विघटन गरेकै कारणले अगल भएका नेताहरू अहिले एकपटक समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा गगनको आशंका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here