सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शिर्ष नेतालाई बुझायो, सुशासन र सहज सेवा प्रवाहमा जोड

0
195

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूसमक्ष पेस गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम तयार पार्न गठित समितिका संयोजक एमाले अध्यक्ष केपी ओलीसमक्ष मस्यौदा पेस गरिएको हो ।

बालुवाटारमा सत्ता साझेदार दलहरूको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ लगायत नेताहरू उपस्थित थिए । सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले हिजोनै सो मस्यौदा तयार पारेको थियो ।

शीर्ष नेताहरूले सो मस्यौदा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्ने छन् । दलहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेका छन् ।

मस्यौदामा सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन तथा संरचना फेर्ने, अति राजनीतीकरणका कारण अक्षम बनेका राज्यका संस्थालाई पुनःसंरचना गरी सक्षम र व्यावसायिक बनाउने र राज्यका निकायहरूबीच प्रभावकारी समन्वय गर्ने भनिएको छ । यस्तै, नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने मस्यौदामा जनाइएको छ ।

नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने पनि कार्यदलले तयार गरेको मस्यौदामा उल्लेख छ । उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राप्रपाका धवल शमशेर राणा, जसपाका रकम चेमजोङ लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here