विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ

0
139

काठमाडौं। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद समेत दिएको छ ।

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका-६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।

आरोपितविरुद्ध ’हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहले ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर अर्थात ६१ करोड ३३ लाख ७९ हजार २८४ रुपैयाँ, १२ हजार ८२५ पाउण्ड स्टर्लिङ डलर अर्थात २० लाख ४३ हजार ५३५ रुपैयाँ र ३ करोड २२ लाख २८ हजार ६८० रुपैयाँ शंकास्पद कारोबार गरेका हुन् ।

नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको रकम फुकुवा गर्न निवर्तमाज अर्थमन्त्री जर्नादन शर्माले सो निकायहरुलाई हस्तक्षेप गरेका थिए। राष्ट्र बैंकले पटक-पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ ।

तर शर्माले शाहका सबै खाता खुला गरिदिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन दिएका थिए। सञ्चारमाध्यममा यससम्बन्धि समाचार सार्वजनिक भएपछि त्यसपछि अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए। यस बिषयमा छानविन समिति गठन गरिएपनि समिति नै विवादमा परेको थियो ।

गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई काम कारबाहीमा फर्काइदिएको थियो । सर्वोच्चकै आदेशमा गभर्नर अधिकारी राष्ट्र बैंकको कामकाजमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here