म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा

0
162

काठमाडौं। खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताका खेलमा फिक्सिङ भइरहेको चर्चाले अहिले क्रिकेट वृत्त तरिङ्गित बन्दा प्रतियोगित नै विवादित बनेको हो ।

सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा आज घटना सार्वजनिक भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन् । मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् । दुई टिममा त विदेशी खेलाडीले कप्तानीसमेत गरेका छन् ।

उनीहरुको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन । आज खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै खेल खेल्न अस्वीकार गरेका थिए । क्यानले उनीहरुलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला गरी टस भएको थियो । 

खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिनुभएको छ । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले आजदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ ।

आजै म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो । तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीका प्रवक्ता एसपी कमल थापाले बताउन चाहेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here