तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई दवाव, गठबन्धनमा छैन औपचारिक छलफल

0
131

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन अब ३ दिन मात्रै बाँकी छ । यो समयमा संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढि दलको सरकार बनाउनुपर्ने बाध्यता छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोश्रो स्थानमा रहेको नेकपा एमाले सरकार बनाउने बिषयमा पर्ख र हेरको अवस्थामा रहदा वर्तमान सत्ता गठबन्धनका नेताहरु सरकार गठनका लागि पहलमा जुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुष १० गते साँझ ५ बजेसम्मको समय दिएकी छन्। तर, सरकार बनाउने हैसियतमा पुगेको सत्तारुढ गठबन्धनमा भने अँझै अलमल नै देखिन्छ । प्रधानमन्त्री, राष्ट्रपतिसहितका संवैधानिक पदमा शक्ति बाँटफँटको कुरा टंगोमा पुग्न नसक्दा नयाँ सरकार गठन अलमलमा परेको हो।

अहिले गठनबन्धनका शिर्ष नेताहरुबीच शाक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको छ। यहिबीचमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् दलका नेता पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा प्रचण्डले प्रधानमन्त्रीका लागि औपचारिक दावी गरिएको बुझिएको छ। गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन ।

देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन्। गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ।

नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिइसकेका छन् भने सबै दलहरुले संसदीय दलको नेता समेत चयन गरिसकेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनकै सरकार बन्ने बताए। सपथ ग्रहणपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्रीका बिषयमा भने छलफल भईरहेको बताए।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताए।

संसद भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । उनले छिट्टै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव समेत दिए। पहिलो प्राथमिकता सत्ता गठबन्धन नै भएको बताउदै उनले निकास दिन नसके स्थिर सरकार कांग्रेस र एमाले मिल्नु आवस्यक रहेको बताए।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आफ्नो पार्टी आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्ने समेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here