आगामी निर्वाचनमा ‘नो भोट’ र ‘रिकल’ को व्यवस्था: थपलिया

0
301

काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदातालाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास व्यक्त गरेका छन् । 

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदाताहरूलाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास गरेको छु,’ उनले भने । 

पुनः मतदान वा पुनः मतगणनाको माग भइरहेकोप्रति जवाफ दिँदै उनले आयोगले अन्तिम निर्णय गरिसकेकोले अब अदालतले निर्णय गरे बाहेक त्यस्तो नहुने पनि बताए । ‘मृत्यु भइसकेका कुनै व्यक्तिको नाममा कसैले मतदान गर्छ भनेर आयोगले विश्वास गर्दैन,’ उनले भने, ‘मृतकको नाममा भोट हाल्नेहरू जिउँदो भएको बहाना गर्ने मृतकहरू हुन् ।’

आयुक्त थपलियाले निर्वाचनमा २ प्रतिशतभन्दा बढी मत बदर भएकोमा चिन्ता व्यक्त गरे । प्रदेशसभा तर्फको समानुपातिक मत सबैभन्दा धेरै बदर भएको बताउँदै उनले दलहरू मिलेर निर्वाचनमा गएको र सबैले आफूलाई मत मागेका कारण मतदाताले दुवैतर्फ मतदान गर्दा बदर मत बढी देखिएको उनको आशङ्का छ ।

‘बदर मतको प्रकृति हेर्दा एउटै मतपत्रका धेरै चिन्हहरूमा मतदान भएको देखिन्छ, यो नेपाली दलहरूप्रति मतदाताको भावना व्यक्त भएको हो वा मिलेर गएकाहरू सबैलाई सम्मान गर्दै अझ बढी मिल्न प्रेरित गरेका कारण बदर मत बढेको हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो विषयमा मत प्रकृति विश्लेषण हुने नै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here