नेपाली अर्थतन्त्र सुधारोन्मुखः विदेशी मुद्राको सञ्चिति बढ्दा शोधानान्तर स्थिति पनि २० अर्बले बचत

0
206

काठमाडौं। अर्थतन्त्रका केही सूचकले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको देखाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनले अर्थतन्त्र सुधारतर्फ लम्कन थालेको देखाएको हो । साउनयता झण्डै आधा खर्बले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको छ ।

असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ५ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा प्रतिन्ध लगाएको थियो ।

सोहीकारण विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ । यद्यपि अहिले भने ती प्रतिबन्धित वस्तुको आयात फुकुवा भइसकेको छ । यसको असर आगामी एक/दुई महिनापछि विदेशी मुद्राको सञ्चितिमा पर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

शोधानान्तर स्थितीमा पनि असोजपछि सुधार आउन थालेको छ । कात्तिकसम्म आइपुग्दा शोधानान्तर स्थिती २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ ।

यस्तै ४ महिनामा देशमा पौने चार खर्ब रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । रेमिट्यान्स आप्रवाह गत वर्षको यसै अवधिको तुलनामा २०.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अर्थतन्त्रको सुधारमा रेमिट्यान्सले पनि मुख्य भूमिका खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here