धादिङ र गोरखामा पहिरोले चार जनाको मृत्यु

0
373

 काठमाडौँ- अविरल वर्षापछिको पहिरोले धादिङ र गोरखामा चार जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

बेनीघाट रोराङ- १० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोमा पुरिएर ना ८ ख ४५४० नम्बरको ट्रकका चितवनको राप्ती नगरपालिका- ६ का १८ वर्षीय दोर्जे भन्ने बीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

घाइते हुनेमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षको राजेश कुमार, वर्ष ७ सुगम कुमार, वर्ष २७ का सन्देश कुमार र वर्ष २५ का राजा कुमार छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घाइते हुने अरू दुई जना ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार छन् । उनीहरु राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा छन् । उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ ।

सोनीको शनिबार बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको प्रहरी निरीक्षक अवाले जनाए  । घटनापछि अवरुद्ध भएको सडक अहिले एकतर्फी खुलाइएको उनले जानकारी दिए ।

गोरखामा एकै परिवारका दुईको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरमा डुबान

अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ ।

उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।

ढलमा पानी निकास अवरूद्ध हुँदा  भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।

झापामा अत्याधिक वर्षा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।

मेची, कनकाई, बिरीङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here