एजेन्सी- स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८औँ मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।
स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो । ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । तर, मिडफिल्डर ग्रिजोर्ज क्रिजोयिक ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोल्याण्डले अर्को गोल खायो ।
६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए । जितसँगै स्लोभाकियाले ३ अंक बटुल्दै तालिकामा शीर्ष स्थान हासिल गरेको छ ।