६ दिनपछिको ओली – दाहाल वार्तामा पनि जुटेन सहमति

0
432

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भएको वार्ता पनि निष्कर्षविहिन भएको छ ।

बुधबारपछि पहिलो पटक एक्लाएक्लै वार्तामा बसेका ओली र दाहालको करिव डेढ घण्टाको छलफल निष्कर्षविहिन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘उहाँहरुबीच केहीबेर छलफल भएको हो, सुनाउन लायक त्यस्तो केही भएको छैन,’ थापाले भने । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिए पनि अन्ततः बैठक निष्कर्षविहिन भएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् । त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here