ला लिगाको उपाधि नजिक रियल मड्रिड

0
437

काठमाडौँ – स्पेनिस ला लिगामा ग्रानडालाई २-१ ले पराजित गर्दै शीर्षस्थानको रियल मड्रिड उपाधि नजिक पुगेको छ ।

लगातार नवौं जीत हात पार्ने क्रममा रियलले सोमबार राति ग्रानडाको मैदानमा पहिलो हाफमा गरेको दुई गोल नै जीतका लागि पर्याप्त रह्यो ।

रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र गोल गरे । खेलको दशौं मिनेटमा नै पाहुना टोली रियलले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।

अग्रता लिएको ६ मिनेटमै रियल २-० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो । लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको ५ मिनेटमै घरेलु टोली ग्रानडाले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दियो । यंगल हरेराको पासमा माचिसले गोल गर्दै रियलको अग्रता कम गरेका थिए । माचिसको प्रहार गोलरक्षक कोर्टुवाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन ।

यो जीतसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि जीत्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here