नेपालमा कोरोनाले १०औँ व्यक्तिको मृत्यु, मृतक व्यक्ति पाल्पाका

संक्रमितको संख्या २६ सय ३४

0
591

काठमाडौं  नेपालमा कोरोना भाइरसबाट १०औँ व्यक्तिको मृत्यु भएको छ ।

पाल्पाका एक बृद्धको मिसन अस्पताल तानसेनमा मंगलबार (२० जेठमा) उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ दिनअघि भारतबाट आएका पूर्वखोला गाउँपालिका सिल्वाका ४५ वर्षीय  पुरुष ३ दिनअघि उपचारका लागि भर्ना भएकोमा उनको मंगलबार मृत्यु भएको र स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि बुधबार दोलखाका ७६ वर्षीय एक बृद्धको मृत्यु भएको थियो । त्यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिका गरी ८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

संक्रमितको संख्या २६ सय ३४

यसैबीच नेपालमा २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिहिबार थप ३३४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको हो ।

मुलुकका विभिन्न २१ स्थानमा सुरू गरिएको पीसीआर परीक्षणमा थप ३३४ जना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये ३१९ जना पुरूष र १५ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहिबार अपराह्न ४ बजेसम्म २९० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । २९० जना डिस्चार्ज भएसँगै उपचारारत संक्रमितको संख्या २३ सय ३५ छ । अहिलेसम्म ६५ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here