मंसिर १०/
अमेरिका जाने र सुखसयलको जीवन बिताउने तीनजना युवाको सपना यतिबेला भताभुंग भएको छ। संखुवासभा खाँदबारीका ४२ वर्षीय चिरन्जीवी राई, ओखलढुंगा चिशंखुगढी गाँउपालिकाका ३१ वर्षीय मीनबहादुर राई र ईलामका खमन मगरलाई अमेरिका जाने र भविष्य सुखयम बनाउने महत्वकांक्षी सपनाले आर्थिक रुपमा समेत डुबाएको छ।
भुटानी शरणार्थी युवतीले तीनै जनासँग अदालती विवाह गरेर ठूलो रकम ठगी गर्दै अमेरिका बेपत्ता भएको गुनासोसहित पीडितहरु सोमबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पुगेका थिए ।आफूहरु ठगिएको थाहा पाउनुपूर्व अमेरिका उड्नका लागि तम्तयार उनीहरु तीनै जनाको लक्ष्य एक र प्रक्रिया उस्तै रहेको थियो। यसक्रममा दुई वर्षअघि नै भुटानी शरणार्थी युवतीसँगै विवाह गर्नेगरि अन्य दुई युवकले तीन जनाबाट ७१ लाख रुपैयाँ संकलन गरेका थिए।
संखुवासभा खाँदबारी मुख्यबजारमै होटल व्यवसाय तथा सेकुवा कर्नर सञ्चालन गर्दै आएका चिरञ्जीवीलाई पसलमा आइरहने, नास्ता खाजा, खाना खाने क्रममा चिनजान भएका पूर्णबहादुर राई र चन्द्रबहादुर आलेले अमेरिकाको सपना देखाएका थिए। दुवै जना झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमै बस्दै आएका थिए।
चिरन्जीवीले अमेरिका जाने प्रलोभनमा २०७४ साल कार्तिक २१ गते जिल्ला अदालत मोरङमा भुटानी शरणार्थी युवती बेलडाँगी–आईआई सेक्टर बी–२ हट नम्बर ०२१ मा बस्ने २९ वर्षीय सावित्री गुरुङसँग बिवाह गरे।
जसको सबै चाँजोबाँजो पूर्ण र चन्द्रले मिलाएका थिए। चिरन्जीवी र सावित्रीबीचको सम्बन्धबारे तत्कालिन जिल्ला न्यायाधीश महेन्द्रकुमार पोखरेलको इजलासले पति पत्नीको नाता कायम गरेको छ।
तर बिहे गर्दै गुरुङलाई झुक्याएर ठूलो रकम हात पार्न सफल भएकी सावित्री २०७५ साल कार्तिक १ गते अमेरिका उडिन्। एकवर्षसम्म कागजपत्र बनाउन समय लाग्ने बताएका पूर्ण र चन्द्रबहादुरपनि बेपत्ता भए। ३० लाख रुपैयाँ युवती गुरुङ, पूर्ण र चन्द्रलाई बुझाएको बताएका चिरन्जीवीले युवती अमेरिका गएपछि सम्पर्कविहीन भएको गुनासो गरेका छन्।
यसबीच तीनसाता अघि गुरुङसँग अमेरिकामै नेपाली पत्रकारको रहोबरमा म्यासेन्जरमा गफ भएको बताएका चिरन्जीवीले भने, सो कुराकानीमा समेत सावित्रीले आफूले कुनै रकम नलिएको र विवाह समेत नगरेको बताएकी थिइन्।
उनै गुरुङ युवतीसँगै ईलामका खमन मगरले अमेरिका जाने लोभमा ३० लाख रुपैयाँ बुझाए त्यो पनि विवाह गरेर। पीडित मगर भन्छन्, ‘युवतीको विवाहबारे कुनै जानकारी नदिइ मलाई काठमाडौं जिल्ला अदालतमा बोलाईयो। त्यही कोर्ट म्यारिज गरियो। आफूसँग मागे जति रकम सोही बेला एकमुष्ठ दिइयो।’
२०७४ मंसिर २७ गते जिल्ला अदालत काठमाडौँद्वारा मगर र गुरुङबीच पति पत्नीको नाता कायम छ। त्यसअघि नै ती युवतीले चिरञ्जिवीसँग मोरङ अदालतबाट बिहेको प्रक्रिया पूरा गरिसकेकी थिइन् । खमनले भने, ‘पति पत्नीको नाता कायम भएपछि म सँग ११ लाख रुपैयाँ लिएर अमेरिका उडेकी सावित्री बेपत्ता छिन् ।’ एकमहिनाको अन्तरमा दुई फरक जिल्ला अदालतमा दुवैजनालाई एउटै युवतीले विवाह गरेर अमेरिका लैजाने लोभमा ठगेका थिए।
त्यसैगरि, ओखलढुंगा चिशंखुगढी गाँउपालिका मीनबहादुर राईलाई पनि यसैगरि अमेरिका जाने प्रस्ताव आएको थियो, २०७४ सालमा ।
अमेरिकाको मिठो सपना बुनेका राईले २०७४ साल माघ २ गते जिल्ला अदालत मोरङमा अर्की २३ वर्षीया भुटानी शरणार्थी युवती बिनिता राईसँग विवाह गरे। झापाको दमकस्थित बेलगाँडी–आईआई सेक्टर ए–१ हट नम्बर ०११ एक्समा बसोबास गर्ने बिनिता र पीडित मीनबहादुरबीच श्रीमान श्रीमतीको नाता मोरङ अदालतका तत्कालिन मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले कायम गरेको थियो।
कानुनीरुपमा विवाहको मान्यता पाएको दुई सातापछि विनिता भने पुर्नवासका लागि अन्र्तराष्ट्यि आप्रवासन संगठन (आईओएम)मार्फत अमेरिका पुगिन्। तर उनीसँगै अमेरिका पुग्ने सपना देखेर विवाह गरेका मीनबहादुर भने नेपालमै ती युवतीले विवाह गर्दै झुक्याएर आफूसँग लगेको ठूलो रकम फिर्ताका लागि हारगुहार गरिरहेका छन्। मीनबहादुरले पनि अमेरिका जाने लोभमा युवतीलाई ३० लाख रुपैयाँ दिएको बताउँछन्। मीनबहादुरले भने, ‘ऋणपान गरेर र जग्गा जमिन राखेर दिएको पैसा डुबेपछि अहिले घरको र घाटको भइयो ।’
कागजी रुपमा विवाह गर्दै मोटो रकम कुम्ल्याएर पुर्नवासका लागि अमेरिका पुगेका दुवै युवतीसँग भेटघाट र चिनजान गराउने पूर्णबहादुर र चन्द्रबहादुर पनि हाल फरार रहेको उनीहरुको भनाई छ । मीनबहादुर, चिरञ्जिवी र खुमनले भुटानी युवतीसँग विवाहको कानुनी प्रक्रिया पूरा गरिदिने काम भुटानी शरणार्थी शिविरमै बस्दै आएका पूर्ण र चन्द्रले गरेका थिए।
श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाह गर्दै नेपाली युवासँग ठूलो रकम लिएर अमेरिका गएका युवतीलाई अदालतमार्फत पक्राउ पूर्जी जारी गर्दै प्रहरीले इन्टरपोलको सहायताले पक्राउ गरेर नेपाल फर्काउन सक्ने बताँउछन्। सञ्जेलले भने, ‘ पछिल्लोसमय यस किसिमको गुनासो कार्यालयमा बढ्दै गएको छ।’ अमेरिका लगायत क्यानडा र अन्य मुलुकमा पुर्नवासमा जाने प्रक्रियामा रहेका भुटानी शरणार्थी युवतीले श्रीमान् बनाएर लैजाने सपना बाँड्दै ठगी गरेर सोझा र गरिब परिवारका युवाहरुबाट ठूलो रकम असुल्ने काम गरेको सञ्जेलले बताए।
त्यसैगरि, प्रदेश एकका प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले हालसम्म पीडितहरुको जाहेरी प्रहरीमा नपरेको बताएका छन्। उनी भन्छन्, ‘भुटानी शरणार्थी भएकाले शरणार्थी युवतीले नेपाली युवासँग विवाह गरेमा पुर्नवासका लागि जान नपाउनु पर्ने हो,।’
उनले भने, ‘नेपाली युवासँग बिहे गरेर सम्बन्ध विच्छेद नै नभइकन कोही युवती पुनर्वासका लागि गएको भए त्यो नौलो घटना हो ।’