राष्ट्रसेवक कर्मचारीको दुर्दशा, एक बर्षमा २ सय भन्दा बढी पक्राउ

0
612

३ साउन, काठमाडौं । राष्ट्र सेवक भनिने सरकारी कर्मचारी भ्रष्टाचारको दलदलमा फसेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म रहेको जनाएको छ ।

घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन् । गृहका २७ जना, संघीय मामिला अन्तर्गतका २६ जना, भूमि व्यवस्था अन्तर्गतका २२ जना, वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका थिए ।अख्तियारले गत आर्थिक वर्षमा परेका उजुरी मध्ये ३ सय ५१ मुद्दा दर्ता गरेको समेत जनाएको छ । जम्मा २४ हजार ४८ मध्ये १५ हजार ६ सय ११ उजुरी फर्छ्यौट गरिएको र त्यसमध्ये ३ सय ५१ उजुरी मात्रै मुद्दामा गएको अख्तियारले जनाएको छ ।

अख्तियारले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ८८ दशमलव ५ प्रतिशत कार्य सफल रुपमा सम्पन्न भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अख्तियारले दायर गरेको मुद्धामा सफलताको प्रतिशत बढिरहेको दाबी गर्नुभयो ।

नेपाली सेनाभित्रको भष्ट्राचारमा संलग्नलाई कारवाही गरेरै छाड्ने उहाँले बताउनुभयो भने राष्ट्रिय परिचयपत्र छपाईमा भएको भनिएको भ्रष्टाचार र राष्ट्रिय गौरवका आयोजनाभित्रको भ्रष्टाचार पनि अध्ययनका क्रममा रहेको उहाँले बताउनुभयो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पनि छिट्टै मुद्दा चलाउने अख्तियारले जनाएको छ ।

बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here