रोकिएन बाढी पहिरोको बितण्डा, ३२ जनाको मृत्यु, ५० हजार प्रभावित

0
617

२८ असार, काठमाण्डौ । अविरल वर्षाको कारण बिहिबारदेखि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा शनिबार साँझ ७ बजेसम्म ३२ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालीन सेवा सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालका अनुसार बाढी पहिरोमा परेका २ हजार १ सय ५६ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोमा २५ जिल्लाका करिव १० हजार परिवार अर्थात ५० हजार ब्यक्ति प्रभावित भएको खनालले जानकारी दिए । काठमाडौंमा १ सय ८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १ सय ३३ जनाको सकुशल उद्दार गरिएको हो ।

बाढी पहिरोमा परी ललितपुरमा ६, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ तथा अन्य विभिन्न स्थानमा गरी गरी ३२ जनाको ज्यान गएको हो । २ सय ४० स्थानलाई बाढी पहिरोको उच्च जोखिमको क्षेत्रमा राखिएकाले सतर्क रहन मन्त्रालयले आह्वान गरेको छ ।

 

निरन्तर बर्षाको क्रम आइतबार पनि जारी रहने भएकाले उद्दारपछिको राहतलाई आइतबारपछि प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here