पाँचथरमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान , संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटियो

0
521

जेठ ७/
पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन ।
घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै थियो ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताउनु भयो ।
गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उहाँकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि खटिएको छ भने प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here