आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सरकारलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको सुझाव , दमकका पाँच हजार सुकुम्बासीलाई बस्ने ठाउँको व्यवस्था गर्न प्रधानमन्त्रीलाई स्मरण

0
559

जेठ ६/
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिनु भएको छ ।
नेपाली कांग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस जनजागरण अभियान अन्तर्गत आज झापाको कमल गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले कांग्रेस सरकारको वा विकासको विरोधमा उत्रिएको नभई औचित्य र आवश्यकता पुष्टि गर्ने किसिमका विकास गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमकमा भुकम्प संग्राहालयको आवश्यकता र औचित्य पुष्टि गर्न चुनौती दिनु भयो । भुकम्पले थिलथिलो भएका पीडितहरुलाई घर बनाउने योजनामा लाग्नुको सट्टा सरकार सिन्धुपाल्चोकमा बनाउनु पर्ने भुकम्प स्मृति संग्राहालय दमकमा बनाउन लाग्दैछ के यो दमकको आवश्यकता हो ? भन्दै उहाँले प्रस्न गर्नु भयो । उहाँले दमकमा पाँच हजार सुकुम्बासीले बस्ने ठाउँ माग्दै नगरपालिकामा निवेदन दिएको जानकारी आफूले पाएको भन्दै सुकुम्बासीलाई घर बनाउने जग्गाको बन्दोबस्ती गरिनु आवश्यक भएको स्मरण गराउनु भयो । उद्घाटन कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापाले नेपाली कांग्रेसले ल्याएको जनजागरण अभियानले कार्यकर्ताहरुमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो ।
पार्टीका कमल गाउँ समिति सहसंयोजक राजकुमार न्यौपानेले पार्टी हित विपरित, निर्वाचनमा अन्तर्घात गर्ने जुुनसुकै तहका अन्तर्घातीहरुलाई कारवाही गरेर पदमुक्त नबनाए सम्म कांग्रेसले उचाई नलिने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रम पार्टीका कमल गाउँ समिति संयोजक खगेन भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here