भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवलका जनप्रतिनिधि र स्थानीयलाई प्रहरीले अझै पक्राउ गर्न सकेन

0
615

बैशाख २४
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवलका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो ।
तर अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ घटनामा मुछिएका सबै फरार भएपछि समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।
अदालतले कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा तथा स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाम उल्लेख गरेर प्रहरीलाई पक्राउ पुर्जी थमाएको छ ।
घटना सार्वजनिक भएको दुई साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र केही स्थानीयलाई प्रहरीले पक्राउ गर्न नसक्दा नागरिकता काण्ड रहस्यमय बनेको स्थानीयको गुनासो छ । जनप्रतिनिधि नै संलग्न रहेको सुरुवातमै थाहा हुँदाहुँदै अदालतबाट पक्राउ पुर्जी लिन प्रहरीले ढिला गर्नु र पक्राउ पुर्जी जारी भएपछि पनि पक्राउ नुहुनुले नागरिकता काण्डमा स्थानीय प्रहरीको पनि मिलेमतो छ कि भन्ने आशंका बढेको कचनकवलका स्थानीय यादव अधिकारीले बताउनु भयो ।
नेपाली नागरिकता लिन खोज्ने घटनाका मुख्य अभियुक्त भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले वैशाख १० गते जिल्ला प्रशासन कार्यालय भद्रपुर परिसरबाटै समातेको थियो । हालै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भुपालको औंलामा मसी लागेको देखेपछि उनी भारतीय नागरिक भएको खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here