मुख्यमन्त्री शेरधन राईको आश्वासन पछि अनिश्चितकालीन बिराटनगर बन्द फिर्ता , प्रदेश राजधानीको माग गर्दै धरानमा आन्दोलन

0
722

बैशाख २३/
विराटनगरलाई स्थायी राजधानी बनाउन माग गर्दै सुरु भएको अनिश्चितकालीन आमहड्ताल फिर्ता भएको छ ।
मुख्यमन्त्री शेरधन राईले विराटनगरमा नै कार्यपालिका र व्यवस्थापिका संरचना निर्माण गर्ने आश्वासन दिएपछि आजबाट आह्वान गरेको अनिश्चितकालीन हड्ताल फिर्ता भएको हो । प्रदेश १ का मुख्यमन्त्री राई र विराटनगरलाई स्थायी राजधानी घोषणा गर्न माग गरिरहेको समितिबीच आज दिउँसो छलफल भएको थियो ।
छलफलपछि विराटनगरलाई स्थायी राजधानी घोषणा गरी संरचना एकै स्थानमा निर्माण गर्ने सहमति भएपछि बन्द फिर्ता भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । प्रदेश सरकारले विराटनगरमा नै व्यवस्थापिका र कार्यपालिकाको संरचना स्थापना गर्ने आश्वासन दिएको छ । यस अघि प्रदेश १ को स्थायी राजधानीको बिषयमा दुई तिहाई मत प्राप्त सत्तारुढ दल नेकपाको निर्णय प्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका थिए । प्रदेशको स्थायी राजधानी बिराटनगरमै बनाए पनि संरचनालाई बिकेन्द्रित गर्ने नेकपाको निर्णय बिरुद्ध राजनैतिकदल तथा पेशाकर्मीहरुले अनिश्चितकालीन बन्दसहितको आन्दोनलमा उत्रिएका थिए ।
आन्दोलनका क्रममा विराटनगर महानगरपालिका–३ कन्चनबारी चौकमा मुख्य मन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ । कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जाँदै गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरिदिएका हुन् । प्रहरीले मोटरसाइकलमा को सवार थिए भन्ने खुलाएको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले तोडफोडको प्रयास गरिएपछि मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उता धरानमा पनि प्रदेश राजधानीको माग गर्दै विद्यार्थी, युवा र मजदुरहरुले दिउसो प्रर्दशन गरेका छन् । मध्य दिउसो टायर बालेर आन्दोलन चर्काए पछि प्रहरी र आन्दोलनकारी विच झडप भएको छ । टायर बाल्न नदिदा प्रहरी प्रर्दशनकारी विच तनाव भएको थियो । प्रर्दशनमा नेकपा समर्थित विद्यार्थी संगठन, युवा र मजदुर संगठनको सहभागीता रहेको थियो ।
टायर बाल्न पेट्रोल छर्कदा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । विद्यार्थी रविन श्रेष्ठ र बुद्रोस लिम्बू सामान्य घाइते भएको बताइएको छ । दुवैलाई विजयपुर हस्पिटलमा उपचार गरिएको छ ।
संसदमा धरानलाई राजधानीको प्रस्ताव वा धरानमा पनि संरचना ल्याउने भनेर प्रस्ताव दर्ता नगरिएकोले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here