फागुन २/
दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर गत बर्ष शिलान्यास गरेको ‘रोज गार्डेन पार्क’ नगर प्रमुखले वाचा गरेको मिति गुज्रिसक्दा पनि काम सुरुवात हुन सकेको छैन ।
नगरपालीकाले गत बर्ष आजकै दिन प्रणय दिवसको अवसर पारेर तत्कालीन पञ्चायत रजत स्तम्भ रहेको स्थानमा ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको थियो । वडा नं. ७ स्थित करीब ८ कट्ठा जमिनमा खुल्ला क्षेत्रअन्तर्गत पार्क बनाउने भन्दै नगर प्रमुख रोमनाथ ओली र उप प्रमुख गिता अधिकारीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो । पार्कको शिलान्यास गर्दै नगर प्रमुख ओलीले युवा जोडी, वृद्धवृद्धा तथा बिहानीपख मर्निङ वाक गर्नेहरुलाई मध्यनजर गर्दै पार्क निर्माण गर्न लागेको बताउनु भएको थियो ।
नगरपालिकाको ४० लाख बढी लगानीमा निर्माण गरिने पार्कको डिजाइन समेत तयार भैसकेको बताईएको थियो । व्यवस्थित पार्किङसहितको पार्कभित्र फरक फरक रंगमा फूल्ने १५ किसिमका गुलाबका फूल रोपिने बताईएको थियो ।
पार्कभित्र व्यवस्थित लोटस गार्डेन, योगा पार्क, जगिङ पार्क समेत रहने हाल प्रधानमन्त्री केपि ओलीको सचिवालयमा कार्यरत दमक नगरपालीकाका तत्कालीन प्रशासकिय अधिक्रित युवाराज दाहालले बताउनु भएको थियो । उहाँले एक बर्ष भित्रै पार्क निर्माण भैसके पछि युवा जोडीलाई समय बिताउन तथा रमाइलो गर्न टाढा जानु नपार्ने दाबी गर्नु भएको थियो ।तर एक बर्ष भित्रमै निर्माण गरिसक्ने वाचा सहित शिलान्यास गरिएको पार्क निर्माण सुरु हुनु त कता हो कता पार्कको शिलान्यास गर्न रोपिएका दुईवटा फुल समेत अहिले देख्न पाईंदैन ।
नगर प्रमुख उप प्रमुखलेनै एक बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरेको योजनाको समय गुज्रिसक्दा समेत अत्तोपत्तो नहुन दुखद भएको लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष रेगिना भट्टराई प्रसाईंले बताउनु भयो । दमकमा बिभिन्न ठुला ठुला योजनाका गफ धेरै हुने तर काम केहि नहुने गरेको भन्दै यस्ता गतिबिधिले जनप्रतिनिधिको विश्वासनियता गुम्ने उहाँले बताउनु भयो ।
 
             
		










