प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
१. परिचय
गोर्खाका राजा नरभूपाल शाहका छोरा श्री ५ पृथ्वीनारायण शाह (१७७९–१८३१) नेपाल राज्यका एकीकरण कर्ता हुन् । नेपालका ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाहको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण रहेको छ । नेपाली राजनीतिक इतिहासमा मात्र नभएर साहित्यिक इतिहासमा पनि यिनको योगदान उल्लेख्य रहेको देखिन्छ । दूरदर्शी राष्ट्रवादी राजाका रूपमा परिचित पृथ्वीनारायण शाहको नामसंग गांसिएको दिव्योपदेश नेपाली आख्यानेतर गद्यको इतिहासमा निकै महत्त्वपूर्ण कृति हो । पृथ्वीनारायण शाहका जीवनको अन्तिम समयमा अभिव्यक्त विचार वा उपदेशहरूको शृङ्खलालाई दिव्योपदेश नाम दिइएको छ । यस कृतिलाई वि.सं १८३१ तिर पृथ्वीनारायण शाह नुवाकोट पुग्दा निकै बिरामी भएपछि उनले त्यसै बखत आÇना गुरूपुरोहित र भाइभारदारहरूलाई भेला गरेर बताएका उपदेशहरूको सँगालोका रूपमा लिइन्छ । निकै लामो समयसम्म श्रुतिपरम्पराका रूपमा रहेको यस कृतिको प्रकाशनचाहिँ“ निकै पछि मात्र भएको हो । अहिलेसम्म यसका अनेक संस्करणहरू प्रकाशित भइसकेका छन् । यो कृति गोर्खा सम्राट् बडामहाराजा श्री ५ पृथ्वीनारायणको दिव्य उपदेश (२००९), श्री ५ पृथ्वीनारायण शाहको उपदेश (२०५३), बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश (२०५९) आदि विभिन्न नाममा सम्पादित–प्रकाशित भएको देखिन्छ । यी विभिन्न नाम दिइए पनि यसलाई छोटकरीमा दिव्योपदेश मात्र भन्ने गरेको पनि पाइन्छ ।
सुरुतिर छापिएको दिव्योपदेशमा कुनै शीर्षक दिइएको छैन भने पछिपछि छापिएकामा विषय वा प्रसङ्ग परिवर्तनका आधारमा विभिन्न शीर्षक दिएर विभाजन गरी कृतिलाई एकातिर पाठ्य सुगम तुल्याइएको छ भने अर्कातिर साना साना अधिक शीर्षक दिई अलि असहज र अस्वाभाविक पनि तुल्याइएको छ ।
पृथ्वीनारायण शाहको दिव्योपदेशलाई साहित्यिक गुणयुक्त नेपालीको पहिलो विशिष्ट आख्यानेतर गद्य साहित्यिक कृति मानिएको छ । भाषिक दृष्टिले मात्र नभएर राष्ट्रिय हितका दृष्टिले समेत यसलाई नेपाली साहित्यको इतिहासमा विशिष्ट उपलब्धि ठानिन्छ । साहित्यिकता र कलात्मक अभिव्यक्तिका कारण यस कृतिबाटै नेपाली निबन्धको थालनी भएको मानिन्छ । नेपाली निबन्ध–प्रबन्धको सुरुआत भएको मानिने यस कृतिमा निजात्मक र परात्मक दुवै खाले निबन्धका विभिन्न अभिलक्षण पाइन्छन् । अहिले प्रचलनमा रहेको दिव्योपदेशलाई विभिन्न नामका ६७ शीर्षकमा विभाजन गरिएको छ र त्यसै आधारमा तल यस कृतिको विश्लेषण गरिन्छ ।
२. दिव्योपदेशको विश्लेषण
(१) विषयवस्तु
पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली निबन्धको इतिहासमा आख्यानेतर गद्यको महत्त्वपूर्ण कृति हो । निबन्धका थुप्रै अभिलक्षण पाइने यस कृतिमा युगीन सन्दर्भसँग गाँसिएका प्रशस्तै जीवनोपयोगी प्रसङ्गको प्रस्तुति पाइन्छ । दिव्योपदेश एउटै विषयवस्तुमा केन्द्रित नभई विभिन्न टुक्रे विषयवस्तुको एकीकृत प्रस्तुति भएकाले यसलाई विभिन्न नाममा विभाजित ६७ वटा शीर्षककै आधारमा यसको विषयवस्तु निरूपण गर्नुपर्ने हुँदा त्यसै अनुरूप यसको सङ्क्षिप्त विश्लेषण तल प्रस्तुत गरिन्छ:
(१) उपक्रम: सर्वप्रथम गणेश, कालिका र गोरखनाथको स्मरण गरी नुवाकोटमा पुगेका पृथ्वीनारायण शाहले गुरु पुरोहित, थर घर, भैयाद, भारदारलगायत सबै बुढापाकाहरूका छेउ हुकुम भएका कुरा भनी दिव्योपदेश निर्माणको सन्दर्भ प्रस्तुत ।
(२) उपदेशको परम्परा: ‘बुढा मरे भाषा सरे’ भने झै यी कुराहरू आफ्ना सन्तानलाई सुनाउँदै गई राज्य थामी खानु भन्ने प्रसङ्ग वर्णन ।
(३) पाँच भाइ: आफ्ना तीन आमाका पाँच सन्तान भएको र तिनलाई पञ्चपाण्डवका अवतारका रूपमा उल्लेख गरिएको ।
(४) ससुरालीको तितो अनुभव: आफ्नो विवाह मकवानपुरमा भएको र डोलाका निहुँमा दिग्बन्धन सेनसँग कच्याकुचुक परेको प्रसङ्ग वर्णन ।
(५) चन्द्रागिरिबाट नेपाल खाल्डाको दर्शन: भानु जैसी, कुलानन्द जैसी आदिका साथमा पृथ्वीनारायण शाह चन्द्रागिरि आइपुगी त्यहाँबाट काठमाडौँ, पाटन र भक्तपुर देखेपछि उनले त्यहाँको राजा हुने मनसाय व्यक्त गर्दा जैसीले मनोकाङ्क्षा पूरा हुने कुरा बताएको प्रसङ्ग वर्णन ।
(६) धपेडी: थानकोटको ठुलो भन्ज्याङ हुँदै कल्हारीघाट तरी धादिङ पुगेको कुरा उल्लेख ।
(७) मैधीको सभा: पृथ्वीनारायण शाहले रणजित बस्न्यात, मानसिंह रोका र वीर भद्र पाठकलाई मैधीमा बोलाई आपूmले दिग्बन्धन सेनलाई हाक दिएको कुराका साथै आफूलाई नेपाल हान्ने इच्छा भएको कुराबारे गोप्य सल्लाह गर्दा तिनीहरूले त्यसलाई स्वीकार गरी त्यताको सुरक्षासमेत गर्ने वचन दिएपछि गोरखातरर्फ लागेका कुराको वर्णन ।
(८) मामाको उपदेश: गोरखनाथको दर्शन गर्न गोरखा आएका आफ्ना मामासँग पृथ्वीनारायण शाहले युद्ध, युद्ध नीति र सैन्यनीतिबारे सल्लाह लिँदा उनले लमजुङलाई गरुड, गोर्खालाई सर्प र नेपाललाई भ्यागुतो हो भन्दै गरुडको आ“खा छलेर भ्यागुतो खान पाइन्छ भनी सल्लाह दिएको र सेनाबारेमा बाहुनलाई बयल, ठकुरीलाई सिंह, मगरलाई टागन घोडा र खसलाई तुर्की घोडा हो भन्दै काम चाँडो फत्ते गर्न खसलाई पठाउनू भन्ने अर्ती दिएको कुरा उल्लेख ।
(९) लमजुङसँगको सन्धि: लमजुङका राजा रिपुमर्दन शाहसँग चेपेघाटमा भेट गरी कालु पाडेसँग समेत सल्लाह गरेको प्रसङ्ग वर्णन ।
(१०) कालु पाँडेको मन्त्रीत्व: आफूले बिराज बखेतीलाई कजाइ दिने विचार गरेको भए पनि बाइसी, चौबिसीका जनताका राय बुझी जनइच्छा मुताबिक कालु पाँडेलाई कजाइ दिएको कुरा अभिव्यक्त ।
(११) पाँडे बस्न्यातको सम्बन्ध: राज्यका दुई शक्ति पाँडे र बस्न्यातका बिच आफैले पाँडेकी छोरी मागेर शिवराम बस्नेतको छोरो केयरसिंह बस्नेतसँग बिहे गराई पाँडेको ढाल र बस्नेतको तरबार मिलाएको प्रसङ्ग उल्लेख ।
(१२) सल्यानकोटको अनुष्ठान: रणजित, मानसिंह र वीरभद्रलाई लिगलिगको आडमा राखी सल्यानकोटकी देवीको दर्शन गर्न जाँदा पुजारीको भनाइ अनुसार बाहिरैबाट दर्शन गरेको, राती सपनामा सात–आठ वर्षकी केटीले दुई खड्ग आफूलाई दिएको, केही चिज निल भनेको कुरा जैसीलाई बताउँदा देवीले दर्शन दिएको भनेपछि बलि चढाएर माईको पूजा गरी त्यहाँबाट साइत गरेर हिँडेको प्रसङ्ग वर्णन ।
(१३) सिमलचउरको बास: रातदिन हिँडेर सिमल चउर आइपुगेको तथा सल्यानकोटी, इन्द्रायणी, भैरवी आदिको ध्यान गरेको प्रसङ्ग उल्लेख ।
(१४) जयन्त राना: ग्यामी रानालाई महामण्डल छोडी आफूतिर बोलाउँदा म हजुरकै हुँ तर जयप्रकाश मल्लको नुन खाएकाले उसकै लागि मरिमेट्छु भनी हाँक पठाएको प्रसङ्ग उल्लेख ।
(१५) साइत: कचहरीमा बसेको बेला तन्द्रामै आजका सात दिनमा ठुलो साइत छ त्यस दिनको साइतले नुवाकोट साध्य हुनेछ भनेको सुनी जैसीसंग सल्लाह गर्दा उसले पनि त्यही भनेको कुरा उल्लेख ।
(१६) नुवाकोट विजय: उही साइतमा महामण्डल उक्ली नुवाकोट जितेर बढाइ गरेको प्रसङ्ग वर्णन ।
(१७) ककनी र शिवपुरीमा चौकी: ककनी र शिवपुरी दुवै ठाउँमा ठाना राखी मोर्चा कसेको उल्लेख ।
(१८) परशुराम थापा: परशुराम थापाले गडबडी गरेको थाहा पाएपछि झागल गुरुङलाई गाइनेको भेषमा सशस्त्र पठाई खतम पारेको प्रसङ्ग वर्णन ।
(१९) नेपाल खाल्डो विजय: पूर्व–पश्चिम जितेपछि उपत्यका लिएका कुराको चर्चा ।
(२०) दुई ढुङ्गाको तरुल: नेपाल राज्य दुई ढुङ्गाको तरुलजस्तो रहेछ भन्ने उल्लेख ।
(२१) चीनसँगको सम्बन्ध: चीनका बादशाहसित ठुलो घा राख्नू भन्ने चर्चा ।
(२२) अङ्ग्रेजसँगको सम्बन्ध: हिन्दुस्तानलाई दबाइराखेको दक्षिणी बादशाह महा चतुर छ, जाई कटक नगर्नू, झिकी कटक गर्नू भनी सचेत गराउने प्रसङ्ग उल्लेख ।
(२३) किल्लाको व्यवस्था: शिवपुरी, फुलचोकी, चन्द्रागिरि, महादेव पोखरी, पालुङ्ग दाप्चा र काहुलेमा सैन्यबलसहित किल्ला मजबुत राखेमा कसैको पनि केही चल्ने छैन भन्ने कुराको उल्लेख ।
(२४) थिति बाँध्ने इच्छा: राम शाह, जय स्थिति मल्ल र महेन्द्र मल्लले बाधेको थिति आफूले हेरिसकेको र आÇनो पनि थिति बा“ध्ने अभिलाषा भएको कुरा व्यक्त ।
(२५) उत्तर–दक्षिणको बाटो: पूर्व–पश्चिमको बाटो बन्द गरी नेपालको बाटो चलाउने प्रसङ्ग ।
(२६) लोक स्थितिको रक्षा: जातविशेषका कर्म गर्नु भन्ने कुरा उल्लेख ।
(२७) दहचोकमा राजधानी: तीन सहर चिसो ढुङ्गो भएकाले दहचोकमा दरबार बनाउने अभिलाषा व्यक्त ।
(२८) पर्सामा बजार: विदेशी महाजनलाई पर्सागढदेखि उँभो आउन नदिनू, आए भने हामीलाई कङ्गाल बनाउँछन् भन्ने अभिव्यक्ति ।
(२९) स्वदेशी कपडाको व्यवहार: विदेशी कपडा लगाउन मनाही गर्नू र आफ्नो देशका कपडा बुन्न जान्नेलाई सहयोग गर्नू, यसो भए नगद बिदेसिंदैन भन्ने विचार व्यक्त ।
(३०) स्वदेशी वस्तुको निकासी: आफ्नो देशका सामान जडीबुटी विदेश लगी नगद खर्चनू, प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्ने भाव अभिव्यक्त ।
(३१) राजाको धन दुनियाँ हुन्: राजाका भण्डार भनेका रैतीहरू हुन् भन्ने विचार व्यक्त ।
(३२) कर उठाउन ठेक्का नदिनू: कर उठाउन ठेक्का नदिई सरकारी तवरबाटै उठाएर फाटवारी तयार गर्नू भन्ने विचार व्यक्त ।
(३३) भारदार र सैनिकहरूलाई धन कमाउन नदिनू: भारदार, सैनिक आदि कसैलाई पनि अतिरिक्त सम्पत्ति कमाउन नदिने विचार प्रस्तुत ।
(३४) मैले आर्जेको मुलुक छोटा बडा सबै जातको साझा फुलबारी हो: मेरा साना दुखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो, यस फुलबारीका छोटा बडा सबै चारै जात छत्तिसै वर्ण (चार जात छत्तिस वर्ण नभएर चार वर्ण छत्तिस जात) ले कुल धर्म नछोड्नू भन्ने धारणा ।
(३५) वंशक्रमागत पद: ख्वामितको नुनको उद्धार गर्नू, कतै पनि कालु पा“डे, शिवराम बस्नेतका सन्तानलाई नछुटाउनू भन्ने विचार प्रस्तुत ।
(३६) राजाले सेवकलाई घरमा नमार्नू: पाँडे, बस्नेत, पन्त, भैयाद, मगरलाई आलोपालो गरी खान (पद) दिनू, यी साझा सेवक हुन्, यिनले गल्ती गरेमा आफूले नमार्नू, लडाइमा झोसिदिनू, मरे–बाचे दुवै बेसै हुन्छ भन्ने भाव व्यक्त ।
(३७) अन्याय हुन नदिनू: राजाले ठुलो न्याय निसाफ हेर्नू, मुलुकमा अन्याय हुन नदिनू भन्ने विचार प्रस्तुत ।
(३८) घुस्याहालाई ठोक्नै पर्छ: निया-निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने दुवै हुन् । यिनको धन, जिउ, हरण गरे पनि पाप लाग्दैन, यी राजाका महाशत्रु हुन् भन्ने कुरा व्यक्त ।
(३९) सिपाहीलाई पायक पर्ने खान पुग्ने जग्गा दिनू: जड कुरो राजालाई चाहिने सिपाही भएकाले तिनलाई उपयुक्त ठाउँमा घर खेत मिलाइदिनु भन्ने विचार प्रस्तुत ।
(४०) लडाइमा जस पाएकालाई माथि उकालिदिनू: सिपाहीको पदोन्नति गर्दा लडाइ“मा विजय प्राप्त गरेकालाई प्राथमिकता दिनू भन्ने भाव व्यक्त ।
(४१) लडाका जात: खस, मगर, गुरुङ र ठकुरी मिलाएर सेनामा भर्ना गर्नु यी चार जातबाट बैरी त के इन्द्रको आसन पनि डग्मगाउछ भन्ने विचार व्यक्त ।
(४२) शस्त्र सङ्ग्रह: हजारौँ धनु, बन्दुक, तोप भए इन्द्रको आसन पनि डग्मगाउछ भन्ने कुरा व्यक्त ।
(४३) लडाका र तिनका सहायक: लडाइमा हान्ने र साथ दिने दुवै बराबर हुन् जागिर र जग्गा दिँदा दुवैलाई बराबर दिनु भन्ने विचार व्यक्त ।
(४४) मरवट: लडाइमा मरेकाको छोरा खुँडा हान्ने नहुन्जेल मरवट दिनू र खुँडा हान्न सक्ने भएपछि जागिरमा उकाली दिनू भन्ने कुरा व्यक्त ।
(४५) राजाले विवेक राख्नुपर्छ: राजाले विवेक राखिदिए देश–देशका गतिला सिपाही पनि आशा राखी आउँछन् भन्ने विचार प्रस्तुत ।
(४६) सिपाही र दुनियाँ राजाका सार हुन्: सिपाही र रैती राजाका सार भएकाले चतुर राजाले यी दुवैलाई हात लिई राखेमा हुलदङ्गा हुँदैन भन्ने विचार व्यक्त ।
(४७) सिपाहीलाई तिखार्दै रहनू: सिपाहीलाई तिखारिरहेमा तिनले सधैँ आफ्नो काम फत्ते गर्छन् भन्ने धारणा अभिव्यक्त ।
(४८) दुर्गपालको छनौट: गौडामा गुरुङ, मगर आदि पुराना छानेर राख्नु भन्ने विचार व्यक्त ।
(४९) अजानपदलाई ठुलो अधिकार नदिनू: बाहिरिया मान्छेले दरबारमा बेथिति गराउने हुँदा पूर्व–पश्चिमका खस–बाहुनलाई दरबारमा पस्न नदिनू भन्ने विचार प्रकट ।
(५०) लालमोहर राजाबाटै हुनुपर्छ: राजाको हुकुम जफत वा आफ्नै अधीन गरी राख्नू भन्ने विचार प्रस्तुत ।
(५१) योग्य अन्तपालले देशको उन्नति गर्छन्: आफूले तीन थुमका बराहा उमराउलाई इन्द्र बज्र तुल्याएको, नगरा निशान दिएको, बारबीसको गाँठो बाधी दिएको र सल्यान, लिगलिग, धादिङका मुहुडामा फत्ते गथ्र्यो र त्यसै गर्नू भन्ने विचार व्यक्त ।
(५२) पुराना योग्य मानिसलाई जाँची हजुरिया बनाउनू: दरबार बलियो बनाउन पुराना सेवकलाई आफ्नो निकट राख्नू भन्ने भाव प्रस्तुत ।
(५३) प्रजालाई र सैनिकलाई अन्त लहसिन नदिनू: सिपाही र रैतीलाई हात लिई नुनको पछि लगाउनू भन्ने विचार व्यक्त ।
(५४) शुद्ध चाँदीका मोहर रुपियाँ चलाउनू: टकसार पनि चोखो चलाउनू भन्ने विचार प्रस्तुत ।
(५५) न्यायालय: अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी बनाई प्रत्येक कचहरीमा एक जना पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनू भन्ने विचार व्यक्त ।
(५६) न्यायालयबाट आएको आम्दानी धर्मकर्मीमा लाउनू: अदालतको पैसा दरबार नभियाई माग्ने, जोगी, सन्न्यासी, ब्रामणहरूलाई दक्षिणा र भोजन दिनू, उब्रेका पैसाले कपडा किनिदिनू, त्यसो भए असत्यको दोष लाग्दैन भन्ने विचार व्यक्त ।
(५७) गाउँ हटाएर पनि खानी चलाउनू: खानी भएका ठाउँमा गाउबस्ती भए त्यसलाई अन्यत्र सारी खानी चलाउनू भन्ने विचार व्यक्त ।
(५८) घर हटाएर पनि खेत बनाउनू: उब्जनीयोग्य जमिनमा भएका घर हटाई खेती गर्नू भन्ने विचार प्रस्तुत ।
(५९) धोका: सन्धि, मोर्चा आदिमा आफूलाई धोका दिए पनि आफूले महादुख गरी नेपाललाई मोर्चा बनाएको विचार व्यक्त ।
(६०) नागा मारिए: जयप्रकाश मल्लको मतलबका लागि दक्षिणबाट नागा झिकाइए तर तिनलाई नेपाल पस्न नदिई मारिदिएको प्रसङ्ग वर्णन ।
(६१) मीरकासिमको हार: मकवानपुर आएको कासिम अलि खान नवाफलाई खुँडाले काटी घर्काएर सिमाना कटाएको प्रसङ्ग उल्लेख ।
(६२) अङ्ग्रेजको हार: तीन–चार पल्टन लिएर सिन्धुलीगढीमा आएका हाडी साहेबलाई मारी हतियार खोसेर ल्याएको कुरा उल्लेख ।
(६३) तिलङ्गा: लखनउबाट बन्दुक चलाउन जान्ने तीन जना मुसलमान नुवाकोट आएको प्रसङ्ग वर्णन ।
(६४) नेपाल खाल्डोलाई मुगलले जित्नेछन् भन्ने हल्ला: तुर्काना मगरात मुग्लान हुने प्रसङ्ग वर्णन ।
(६५) मुगललाई हराउने उपाय: मगरातको राजा आफै भएको आदि प्रसङ्ग उल्लेख ।
(६६) जङ्गी बन्दोबस्त: हरेक किल्लामा एक एक कम्पनी राखी गर्खा बाँडिदिनू भन्ने कुरा प्रस्तुत ।
(६७) विदेशी नाचगानको बहिष्कार: विदेशी रवैयाका नाचगान स्वदेश भित्रायाएमा तिनले देशको भेद थाहा पाउने हुँदा तिनलाई यता आउन नदिनू, रागको अभ्यास कसैले नगर्नू, तीन सहर नेपालका नेवारहरूको नाच झिकाई हेर्नू, यसो गरेमा तिनलाई दिएको पनि देशमै रहन्छ र देश पनि सुरक्षित हुन्छ भन्ने धारणा व्यक्त ।
माथि प्रस्तुत विवरणलाई हेर्दा दिव्योपदेशमा विषयवस्तुको प्रस्तुतिमा क्रमबद्धता नपाइए पनि यसमा प्रस्तुत हरेक विषय उत्तिकै महत्त्वपूर्ण छन् । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण मात्र नगरी त्यसलाई सदासर्वदा कायम राख्ने उपयुक्त मार्गचित्रसमेत प्रदान गरेको कुरा यस कृतिबाट पुष्टि हुन्छ । नेपाल बहुजाति, बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिका साथै बहुभौगोलिकतासमेत भएको देश हो । सामाजिक, सांस्कृतिक आदि अनेक सन्दर्भबाट यहाँ विविधता र अनेकता पाइए पनि यी सबैका बिचमा एकता कायम गर्ने सन्दर्भमा यो कृति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
पृथ्वीनारायण शाहको सिङ्गो जीवनका अनुभवको सँगालोका रूपमा रहेको यो कृति मूलतः वैचारिक अभिव्यक्तिको पुञ्जका रूपमा देखा परे तापनि यसमा प्रस्तुत विचारहरू कुनै पनि राजनैतिक वादको सङ्कुचित घेराबाट टाढा रहेका छन् र यी सबै राष्ट्रवादको जीवन्त नमुनाका रूपमा देखा परेका छन् । एकीकृत राष्ट्रको संरक्षण, संवर्द्धन र विकासका दृष्टिले यस कृतिमा प्रस्तुत वैचारिक अभिव्यक्तिहरू सधैका लागि अत्यन्त सान्दर्भिक र सामयिक पनि छन् । सपना प्रसङ्ग, सामाजिक चालचलन, रीति थिति संस्कार आदिबारे पनि यसमा जीवन्त अभिव्यक्ति पाइन्छ ।
वीरहरूको यथोचित कदर, मान्यजनसँग यथावसर राय सल्लाह लिई त्यसै अनुरूप विभिन्न गतिविधि सञ्चालन, जनताको राय बुझेर जनइच्छा र आकाङ्क्षा बमोजिम राज्य सञ्चालन गर्ने प्रजातान्त्रिक चिन्तन, राजा र जनता दुवैका कर्तव्यको चर्चा, दुई शक्तिका बिचमा वैवाहिक सम्बन्ध स्थापित गरिदिएर भए पनि मैत्री भाव बढाउने काम, परस्पर वैमनस्यको अन्त्य र सद्भावको विकास गराउन राजा स्वयं संलग्न हुने प्रवृत्ति, राजा स्वयंको कार्यप्रति दृढ आत्मविश्वास, धार्मिक आस्था र निष्ठा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित न्याय व्यवस्था तथा राजा स्वयं न्यायमूर्तिका रूपमा उपस्थित हुने परिपाटी, घुस्याहा (घुस लिने र दिने दुवै) प्रवृत्ति तथा भ्रष्टाचार उन्मुलनको तीव्राकाङ्क्षा आदि राष्ट्रिय हितसँग गासिएका सन्दर्भहरू दिव्योपदेशका विशिष्ट पक्ष हुन् ।
ठाउँ, परिस्थिति र योग्यताका आधारमा कामको बाँडफाँड विना भेदभाव, विना पक्षपात र विना पूर्वाग्रह कर्मचारी राष्ट्रसेवक नियुक्तिको व्यवस्थापन, ‘योग्यै योग्याय दातव्यै’ भन्ने नीतिको पूर्ण अनुसरण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार तथा नातावादी, कृपावादी, चाकरीवादी, पक्षधरतावादी आदिको उन्मुलन गरी योग्यतावादी नीतिप्रतिको पूर्ण प्रतिबद्धता, कानुनी राज्यको स्थापनाजस्ता दूरदर्शितापूर्ण सन्दर्भ र प्रसङ्गहरूको जीवन्त प्रस्तुतिका कारण पृथ्वीनारायण शाहको दिव्योपदेश हिजो र आज मात्र होइन, भोलिसमेत वैचारिक र साहित्यिक दुवै दृष्टिले उत्तिकै नवीन, उपयोगी र महत्त्वपूर्ण कृति हुने पक्का छ ।
राष्ट्रिय अस्तित्व र एकताप्रति सदैव सचेत रही अग्रजका राम्रा र गतिला कार्यको मनन गर्दै भावी नीति तर्जुमा गर्ने अठोट, विदेशी सामान र नाचगानमाथि प्रतिबन्ध तथा स्वदेशी उद्योग, उत्पादन र नाचगानलाई प्रश्रय दिने कार्य योजना, खेतीपाती, बस्ती, खानी, उद्योग आदिबारे स्पष्ट दृष्टिकोण, जातीय संस्कृतिको जगेर्ना, आयातमुखी नभएर निर्यातमुखी अर्थतन्त्रमा जोड, भूराजनीतिअनुरूप विदेशी नीति, समान सम्बन्धमा आधारित असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्धता, मित्रराष्ट्रप्रति सौहार्दपूर्ण सम्बन्ध, समुचित र समावेशी सैन्य व्यवस्थापन, राष्ट्रिय आम्दानीको अभिवृद्धि, कर प्रणाली आदि र राज्य सञ्चालनसँग सम्बद्ध यावत् पक्षहरूको प्रस्तुतिका कारण दिव्योपदेशलाई तत्कालीन नेपाल राष्ट्रको सञ्चालनको कडी र दूरदर्शितामा आधारित संविधान नै मान्न सकिन्छ । आफूले निर्माण गरेको राज्यलाई चिरकालसम्म जोगाउने अभिप्राय बोकेको यस कृतिमा देशको अर्थनीति, गृह नीति, परराष्ट्र नीति, सैन्य नीति, युद्ध नीति आदिका साथै न्याय प्रणाली, जातीय एकता, जनमतको कदर, राष्ट्रियता, देशप्रेम, जातिप्रेम, वीरता, योग्यताको उचित सम्मान आदि अनेक पक्षहरूको शाश्वत अभिव्यञ्जना पाइन्छ । आफूले अर्कैलाई सोचेको भए पनि जनताले रुचाएको व्यक्तिलाई उच्च पदीय जिम्मेवारी सुम्पनु, राजा भए भन्दैमा कुनै पनि काम जबर्जस्ती नगर्नुलाई उच्च प्रजातान्त्रिक नमुना मान्नुपर्छ । कुनै शासकबाट कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गबारे यति महŒवपूर्ण कुरा उल्लेख गरिएको कृति नेपालीमा अर्को कुनै नभएकाले यसलाई अद्वितीय कृति मान्नुपर्छ ।
(२) भाषाशैलीय विन्यास
भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा दिव्योपदेशमा चोखो, मिठो नेपाली भाषाको सुन्दर र प्रभावकारी प्रयोग पाइन्छ । यो कृति सुरुमै लेखौटका रूपमा नभएर श्रुतिपरम्पराबाट आएको र निकैपछि मात्र लेखन भएका कारण यसका कतिपय भाषिक अभिव्यक्तिगत सन्दर्भहरू केही अस्पष्ट देखिए पनि समग्रमा यसमा प्रयुक्त भाषा सरल, सहज, सुबोध, स्वाभाविक हुनाका साथै आलङ्कारिक र आदेशात्मक पनि छ । यसमा नेपाली भूमिबाटै टिपिएका कतिपय निजी तर विशिष्ट बिम्ब र प्रतीकको समेत स्वतःस्फूर्त प्रयोग पाइन्छ । यो सामान्य कुराकानी मात्र नभएर विशिष्ट भाषिक अभिव्यक्तिको सुन्दर नमुना हो । यसमा वर्णनात्मक, विवरणात्मक र कतिपय ठाउँमा विश्लेषणात्मक शैलीको सहज र स्वाभाविक प्रयोग पाइन्छ ।
आलङ्कारिक भाषिक विन्यासका दृष्टिले विशिष्ट रहेको यस कृतिमा पाइने आलङ्कारिक अभिव्यक्तिको उदाहरणका रूपमा निम्नलिखित तथ्यलाई लिन सकिन्छ:
-कुरुक्षेत्रको मेला नभै नेपाल फुट्ने छैन, लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुतो हो । अघि गरुडको आंषा छल्नु तब सरपले भ्यागुतो सान पाउँछ।
-बाहुनको सवार भन्याको बयेल हो पातक् लाग्छ । ठकुरीको सवार भनेको सिंघ हो पछाडि दाग हुन्छ । मगरको सवार भनेको टागन् घोडा हो ढिलो हुन्छ। षसको सवार भन्याको ताजि तुर्कि घोडा हो । षसको सवार ग¥या चाँडो होला ।
यीबाहेक यसप्रकारको आलङ्कारिक अभिव्यक्ति यस कृतिमा प्रशस्तै पाइए पनि त्यसमा दुर्बोधता र क्लिष्टता भने पाइँदैन । यसमा प्रयुक्त भाषालाई आजका सन्दर्भबाट हेर्दा अनौठो वा नमिल्दो जस्तो लागे पनि नेपाली भाषा उति विकसित नभएको तत्कालीन युगीन सन्दर्भबाट हेर्दाचाहिँ यसप्रकारको भाषिक विन्यासलाई निकै महत्त्वपूर्ण मान्नुपर्छ । सामान्य कथन मात्र नभएर विशिष्ट भाषिक विन्यासको ज्वलन्त नमुनाका रूपमा रहेको यो कृति सरल, सुबोध, सुन्दर, स्वाभाविक, प्रभावकारी र आलङ्कारिक भाषाशैलीय विन्यासमा आबद्ध सुगठित संरचना हो ।
३. उपसंहार
पृथ्वीनारायण शाहको दिव्योपदेश वैचारिक प्रस्तुतिका सन्दर्भबाट निकै महŒवपूर्ण कृति हो । आदर्श, जनउत्तरदायी, भ्रष्टाचार मुक्त र प्रजातान्त्रिक शासन व्यवस्थाको अपेक्षा, स्पष्ट विदेश नीति, अर्थनीति आदिको प्रस्तुतिका कारण दिव्योपदेश वर्तमानमा समेत स्वच्छ, स्वस्थ र निष्पक्ष शासन सञ्चालनका लागि वरिष्ठ राजनैतिक चिन्तक मेकियाभेलीको चिन्तनसँग समेत मेल खाने मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । इतिहास, राजनीतिशास्त्र, भाषाशास्त्र, समाजशास्त्र आदि सबैका सन्दर्भबाट समेत उत्कृष्ट मान्न सकिने यो कृति वर्तमान सन्दर्भमा पनि त्यत्तिकै सामयिक र सार्थक गुरुमन्त्रका रूपमा दर्ता गर्न लायक छ । वैयक्तिक अनुभूति, स्वतन्त्र अभिव्यक्ति, वैचारिक प्रस्तुति आदिका सन्दर्भ र प्रसङ्गबाट पृथ्वीनारायण शाहको व्यक्तित्व प्रतिबिम्बित यस कृतिलाई सामयिक ढङ्गले मनन गरी त्यसै अनुरूप ग्रहण गर्नु वाञ्छनीय देखिन्छ ।
दिव्योपदेश वैचारिक दृष्टिले जति महत्त्वपूर्ण छ, साहित्यिक दृष्टिले पनि त्यति नै महत्त्वपूर्ण छ । यसलाई आख्यानेतर साहित्य विशेषतः निबन्ध/प्रबन्ध विधाको प्रारम्भ बिन्दु मानिन्छ । यसै कृतिका माध्यमबाट नेपालीमा साहित्यिक निबन्ध लेखनको प्रारम्भ भएको हो । यो कृति एकातिर यात्रा संस्मरणात्मक निबन्धका रूपमा आबद्ध छ भने अर्कातिर निजात्मक निबन्धका गुणले ओतप्रोत पनि छ । नेपाली निबन्धको विकासमा आदि कृति वा पृष्ठभूमिका रूपमा रहेको यस कृतिको आन्तरिक सङ्गठन पनि सुव्यवस्थित छ । सुगठित संरचनामा आबद्ध यो कृति क्रमबद्ध लेखकीय अभिव्यक्ति र सुसङ्गठित विचारको प्रस्तुतिका कारण नेपाली गद्यसाहित्यकै विशिष्ट कृति हो । वैयक्तिक अनुभूति, स्वतन्त्र अभिव्यक्ति, वैचारिक प्रस्तुति, कलात्मक वर्णन आदिका सन्दर्भबाट यो कृति विशेष महत्त्वपूर्ण रहेको छ । प्रशस्तै निबन्धात्मक अभिलक्षण पाइने यसलाई एउटा प्रबन्धात्मक कृतिका रूपमा पनि लिन सकिन्छ ।
दिव्योपदेश मूलतः आख्यानेतर गद्यसाहित्यको उत्कृष्ट कृति भए पनि आख्यान साहित्यका सन्दर्भमा समेत यसको भूमिका उल्लेखनीय छ । तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको यस कृतिमा घटना, सहभागी, परिवेश आदिको वर्णनसमेत पाइने हुँदा यसलाई आख्यान साहित्यका रूपमा पनि लिन सकिन्छ । खासखुस स्थान, समय र वातावरणको प्रयोग तथा घटनावर्णनमा आख्यानात्मक अंशहरू पनि पाइने हुँदा नेपाली आख्यान साहित्यमा समेत यसको गणना गर्न सकिन्छ । मुख्य रूपमा आख्यानेतर हुँदाहुँदै पनि दिव्योपदेशमा आख्यान साहित्यका प्रशस्त अभिलक्षणहरू समेत पाइने हुनाले यसलाई नेपाली आख्यान र आख्यानेतर दुवै साहित्यको प्रारम्भिक तर ज्यादै महत्त्वपूर्ण कृतिका रूपमा लिन सकिन्छ । नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्न सक्ने दूरदर्शी, विशिष्ट एवं गहन तम विचारपुञ्जका रूपमा रहेको यो कृति वैचारिक निबन्धका फाँटमा त अद्वितीय नै छ ।
समग्रमा भन्नु पर्दा श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश वैचारिक र साहित्यिक दुवै दृष्टिले उत्कृष्ट संरचना हो । यी दुवै कोणबाट यसको मूल्य चिरकालसम्म अर्थात् नेपाल राष्ट्र र नेपाली जातिको अस्तित्व रहेसम्म जीवन्त रहिरहने कुरामा कुनै सन्देह छैन । अझ वर्तमानका व्यवहारमुखीभन्दा निर्देशनमुखी सबैतिरका शासक–प्रशासकहरूका लागि त दिव्योपदेश मार्गदर्शक सिद्धान्त नै हो । यसमा अभिव्यञ्जित कतिपय विचारहरू वर्तमान समय र परिस्थिति अनुरूप परिवर्तन गर्नुपर्ने भए पनि अधिकांशतः आज पनि त्यत्तिकै यथार्थ मूलक, उपयोगी र ताजा छन् । नेपाल राष्ट्रलाई जोगाउने र यसलाई समुन्नत तुल्याउने हो भने यसमा अभिव्यक्त सशक्त विचारहरूलाई आज पनि उत्तिकै महŒवका साथ ह्दयङ्गम गरिनु वाञ्छनीय देखिन्छ । यस कृतिमा अभिव्यञ्जित विचारलाई हेर्दा पृथ्वीनारायण शाह चरम राष्ट्रवादी व्यक्ति भएकोमा कुनै सन्देह छैन भने त्यस विचारको प्रस्तुति निकै कलात्मक ढङ्गमा गरिएको हुँदा यो कृति गद्यसाहित्यको उत्कृष्ट नमुना बन्नपुगेकोमा पनि कुनै सन्देह छैन ।