लेखकहरु आफ्नो आँखाले संसार खिचेर विश्वलाई संवेग बाड्छन् – ज्योति जंगल

0
1307

नेपाली साहित्यमा ज्योति जंगल परिचित नाम हो । बिगत केहि दशक अगाडीदेखी यो नाम नेपाली साहित्यमा निकै क्रियासिल छ । ज्योति जंगल खासगरेर कवितामा सक्रिय नाम हो । पछिल्लो साता यिनै कवि जंगल कथा संग्रह बजारमा ल्याएर चर्चामा छिन् । यिनको कथासंग्रह छायाँ मार्फत अहिले नेपाली साहित्यको बजारमा जंगल कथाकारिताको क्षेत्रमा उपस्थित भएकि छिन् । उनको साहित्यकर्म र कथाकारिताको संम्बन्धमा ग्लोवलपोष्ट का निम्ती ज्योति भट्टराई ले गरेको अन्र्तबार्ता हामिले प्रस्तुत गरेका छौं ।

बिराटनगरमा रहेर साहित्य कर्म गर्नु र काठमाण्डौमा रहेर गनुको तात्कालिक र दिर्घकालिक फरकहरु के के लाग्छन तपाँईलाई ? 

स्थानविशेष भन्दापनि साहित्य सिर्जनाविशेष हुन्छ । विराटनगर या काठमाण्डौ जहाँ बसेपनि साहित्य कर्मको परिधि सर्जकको लगान अध्ययन र मेहनतले तय गर्ने हो । तात्कालिक रुपले हेर्दा अध्ययन गर्ने स्रोतहरु र विभिन्न साहित्यिक वातावरणको पहुँच काठमाण्डौमा बढी त हुन्छ नै तर दैनिकीले समय दिदैंन । दीर्घकालीन रुपले हेर्दा कृतिमा स्थानको भन्दा रचनाको प्रतिविम्ब बलियो हुन्छ त्यहाँ स्थान खोज्दा पनि भेटिदैंन ।

तपाँई यस भन्दा अगाडी कवितामा हुनुहुन्थ्यो , कथामा आउनुको कारण के हो ?

कथा सिर्जना गर्नु मेरालागि एककिसिमको दबाव रह्यो । कवितामा लेखेर नअटाउने कथ्यहरुले मलाई जेल्दै लगे र म कथातर्फ हानिएँ । यसको अर्थ कवितालेखज छुटेको या विधै परिवर्तन भएको हो भन्ने चाँही होइन ।

तपाँई कवि बढि हो कि कथाकार ?

यो मैले मूल्याङ्कन गर्ने होइन होला तैपनि कविता मलाई साहित्यमा सर्वप्रथम उभ्याउने धरातल हो । त्यहाँ नआटेका कुरा कथामा आए । पात्रलाई जिम्मा दिन नसकेका र कवितामा नअटाएका कतिपय कुरा निबन्ध पनि हुन्छन् । सिर्जनाका रुपले हेर्दा म कवितामै बढी छु ।

तपाँईको कथाको पुस्तक बिमोचनमा बोल्दै समालोचक राजकुमार बानियाँले भन्नुभयो ‘ अहिलेका कथाहरुमा निमोनिया लागेका छन घ्यार्र घ्यार्र मात्र छन’ सांकेतिक रुममा तपाँई प्रति पनि लक्ष्य भएको झै लाग्थ्यो ,के लाग्छ अहिलेका कथाहरुमा साँच्चै निमोनिया लागेकै हुन त ?

सबैको आआफ्नो धारणा हुन्छ । उहाँको विचारमा मैले स्पष्टीकरण दिनु उचित हुँदैन । नेपाली कथा या आख्यान तरल भएको मैले पनि महशुष गरेको छु । अझ विश्वका अन्य भाषाका कथासँग नेपाली कथा दाँज्यो भने अर्कै परिणाम निस्कन्छ । समालोचकहरु दोस्रो उपस्थिति हुन् प्रथम त सिर्जना नै हो तर सबै स्थानका पाठकलाई एउटै श्रष्टाले लेखेको कथाले सन्तुष्ट पार्न त सक्दैन । पाठक आफ्नो स्वाद छानेर सिर्जनाको पानी पिउन स्वतन्त्र छ ।

लेखक फोटोग्राफर जस्तो हुनुहुँदैन, लेखकसँग त आफ्नै बिश्वदृष्टि सहितको चिन्तनयुक्त मार्ग पनि हुनुपर्छ भन्ने भनाई तपाँईलाई कत्तिको सत्य लाग्छ ?

संसार हेरेर बुुझ्ने त्यहाँको फोटो उतारेर नै हो । लेखकहरु आफ्नो आँखाले संसार खिचेर विश्वलाई संवेग बाड्दै पनि हुन्छन् । चिन्तन भएर नै फोटो उतारिन्छ । कस्तो उतार्ने भन्ने चाँही परिवेशले तय गर्छ । विश्वदृष्टि बाँड्न सक्ने स्थानमा भएको मान्छेले मात्र विश्वलाई चकित पार्नेगरी चिन्तनका कोणहरु बाँड्न सक्दो हो । उभिनै नसकेको मान्छे त लौरो मागिरहेको हुन्छ ।

तपाँईको कथा संग्रह ‘छाँया’ मा रहेका कथाहरु फोटोग्राफरले खिचेका फोटा जस्ता मात्रै छन नि किन त्यसो गर्नुभएको हो ?

यी कथाहरु के हुन् भनेर मैले अब पाठकलाई जिम्मा दिएको छु । समालोचकीय मूल्याङ्कन पनि हुने नै छ । एउटा कुरा चाँही के हो भने मैले सामाजिक विषयबस्तु उठान गरेकाले कथामा एनिमेशन गरेको छैन । मेरो समाजको अनुहारमा भएको काला छायाहरु नखिचीकन मैले त्यहाँ मेकअप गरिदिएँ भने मानवीयताको संरक्षण नहोला ।

तपाँई आफ्नो कथाबाट कत्तिको उत्साहित हुनुहुन्छ ?

रचना मेरो धर्म हो । उत्साहित हुनुभन्दा पनि बढी मैले कथालार्ई आत्मासात गरेर सँगै हिँडेन थालेको छु ।

पिक्चर अफ डार्क साईड सोसाईटिको होल हो कि होईन ? यदि होईन भने तपाँई सिर्फ जान्द्रामा कलम चलाउनुहुन्छ हो ?

कतिपय डार्क साईड व्यक्तिले नोट गरेको हुँदैन । थाहा पाएर कति थाहा नपाएर उसले पनि यसरी डार्कलाई बढावा दिइरहेको हुन्छ । यो पिक्चर देखेपछि दर्शक मानसिक रुपले छोइएर सच्चिन सक्छ व्यवहारमा जोगिने कोशिश गर्न थाल्छ र समाजको कमजोरी क्रमशः घट्न सक्ला कि ? समाज समानताकोे मान्यताले हुर्कन्छ तर यो होल किन जारी रहन्छ ? होलमा परेर जीवन टेक्न नसक्नेको आवाज कलमले दिने हो कि होइन ? यही स्वीकार्न जरुरी छ ।

मान्छे र जगत् सदियौंदेखि दोहोरिएर आएका छन् । तपाइँ पनि दोहोरिएर मात्र संसारमा जन्मी आउनु भएको हो । मान्छे र जगत लेख्दा जान्द्रा हुन्छ भने म त्यहाँबाट बाहिर हुन कसरी सक्छु ? तर शैली मेरो अनुहार हो त्यहाँ सदैव म आफूलाई जोगाउने प्रयासमा हुन्छु ।

तपाँईको लक्ष्य गम्भिर पाठक हुन कि सामान्य ? पाठकको प्रतिक्रियाहरुले तपाँइलाई कस्तो मायने राख्दछन् ?

सर्जकले सिर्जना गर्दा पाठकलाई ख्याल नगरी गर्छ होला । कम्तीमा म चाँही त्यसो गर्छु । मलाई पाठक छानीछानी लेख्न आउदैन । मैले छान्ने त पात्र मात्र हो । पाठकको प्रतिक्रियाले मेरो कलमको आँखा खुल्छ । त्यसलाई मैले आशीर्वाद जसरी ग्रहण गर्ने गरेकी छु ।

पछिल्लो समयको नेपाली कथाकारितामा पात्र बिधानमा लेखक हाबि भएको बुझिन्छ, यस्तो हुनुको कारण के होलान् ? यो लेखकको समस्या हो कि, तत्कालिन सामाजिक परिवेशको हो ?

लेखक केही कुरा भन्न नै सिर्जना गर्छ । हो पात्रविधानमा लेखक हावी भएको भन्ने कुरामा सत्यता पनि छ तर लेखक चुप लाग्यो भने पिक्चर भो भन्ने कुरा आउँछ । लेखकको यो कमजोरीलाई उपचार त गर्नु पर्छ तर कतिपय प्रतिक्रिया पनि आफूमा कमजोर हुन्छन् ।

नेपाली कथा परम्परा जादुमयि यथार्थबादि परम्परा हो कि सामाजिक यथार्थबादि परम्परा हो ?

नेपाली कथाले अहिलेसम्म धेरै चरण पार गरिसकेको छ । शुरुआती परम्परा त जादुमयी परम्पराबाट नै आएको छ तर त्यँहा धर्म र समाज सँगसँगै छन् । परम्परागत पात्रहरुमा दैवी या अलौकिक शक्ति पनि भएको देखिन्छ । तर ती समाजको उदाहरण भनी व्याख्या भएकाले समाजको दर्शनलाई मध्यनजर गरिएका छन् ।

यस्ले नेपालको अहिलेको कथा लेखनलाई कस्तो सहायता गरिरहेको छ ? कि साहायतानै गरेको छैन ?

यो त आधारशीला नै हो । आधारभूमि हो । यसमा सहायता मात्र भन्न मिल्दैन । तर जन्मिएर हुर्किएजस्तो कथा हुर्किएर धेरै फराकिलो आयाम बाँच्न थालेको छ ।

नेपाली साहित्यको बिश्वब्यापिकरणको निम्ती के गर्नु आवस्यक लाग्छ तपाँईलाई ?

नेपाली साहित्यको विश्वव्यापीकरणको लागि यो भाषाका कृतिहरु अन्य भाषामा लानु नै पहिलो शर्त हो । हामीलाई हाम्रो साहित्य कहाँसम्म पुगेको छ भन्ने बारेमा पनि खास एकीकृत जानकारी पाउन गारो छ । यस विषयमा निजी र सरकारी तवरबाट भएका कार्यहरुको एकमुष्ठ अध्ययन गरेर अब आउने बाटो तय गर्न जरुरी देखेको छु ।

आफ्नो लेखनिका बारेका यो अन्तबार्ता पढ्ने पाठकहरुलाई के भन्न चाहानुहुन्छ ?

अन्तबार्ता पढ्ने पाठकहरुले मेरो सिर्जना पढ्न बाँकी भए त्यसमा आँखा परुन् भन्न चाहान्छु । मेरो लेखनिका बारेका जतिसक्दो बोल्ने छुट पढ्नेहरुलाई नै हुन्छ । कृति समर्पण गरेपछि लेखक नेपथ्यको रमितेजस्तो मात्र हो या ऊ अर्को पात्रसँग खेलिरहेको पनि हुनसक्छ ।

बिश्वमा आएका साहित्यक अभियान र बाद तथा नेपाली साहित्यमा आएका यस्ता किसिमका अभियान या बादहरुले लेखनलाई परिस्कृत गर्छन कि कमजोर बनाउँछन जस्तो लाग्छ तपाँईलाई ?

वाद पनि साहित्यको आयाम हो । भिन्न स्वाद खोज्ने अभियान पनि हो । नयाँ वाद आउदैमा अन्य हराउछन् भन्ने हुँदैन । शुरुआती सभ्यताका शैलीहरुमा अहिले पनि रचना भइरहेका छन् । एक अर्कालाई निषेध र घृणा नगर्ने हो भने यसले साहित्यिक लेखनलाई परिस्कृत नै गर्छन् जस्तो लाग्छ ।

तर्पाँईको यस नयाँ कृतीमा कत्तिको यस किसिमका प्रभाबहरु छन ?

मलाई सिर्जना गर्दा वादको सम्झना आउदैन । यो कुन वादमा पर्छ भनेर छुट्याउने समालोचकीय धारणा दिन कृतिले अलिक लामो समय यात्रा गर्नुपर्छ । अहिले म लेख्दाका बखतमा मैले कुनै वाद शिरोधार्य गरेको छैन भनेर मात्र घोषणा गर्न सक्छु । पछि यसलाई जुनजुन वादको झोलामा हालेपनि मलाई कुनै आपत्ति रहने छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here