झापामा प्रदेश नम्बर १ कै पहिलो आलुको मूलबीउ उत्पादन कार्य शुरु

0
1065

 चैत्र ५,२०७४ 
झापा/ झापाको गौरादहबाट आलुको कृतिम मूलबीउ उत्पादन थालिने भएको छ । गौरादह २ सिक्टियामा दुर्लभ कार्की सहितका स्थानीय तीन जना युवाले फाईकस बायोटेक प्रालि स्थापना गरेर कृतिम वातावरणबाट आलुको मूलबीउ उत्पादन गर्न लागेका छन् ।
सञ्चालक कार्कीका अनुसार आगामी बैशाख महिनादेखि बीउ उत्पादन सुरु हुनेछ । उनीहरुले दुई करोडको लागतमा कम्पनी स्थापना गरेका छन् । जसमध्ये राष्ट्रिय आलुबाली विकास कार्यक्रमले एक करोड रुपैयाँ अनुदान दिएको छ । प्रदेश नं. १ मै उक्त कम्पनी निजी क्षेत्रबाट आलुको मूलबीउ उत्पादन गर्ने पहिलो भएको कार्कीले दाबी गरे । सरकारी स्तरबाट भने यसरी नै आलुको मूलबीउ उत्पादन गर्ने कम्पनी धनकुटाको पाख्रिबासमा रहेको छ ।
जैविक प्राविधिकहरुले टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व मुलबिउ (प्रि–बेसिक सीड) उत्पादन गर्न लागेका हुन् । कम्पनीले यसका लागि मूलबीउ उत्पादन गर्न टिस्युकल्चर प्रयोगशाला स्थापना गरेको छ । कम्पनीले पहिलो बर्ष दुई लाख दाना पूर्व मूलबीउ उत्पादन गर्नेछ । उक्त बीउ एकदेखि ५ ग्राम वजनसम्मका मात्रै हुन्छन् । उक्त बीउबाट चार पुस्तासम्म बीउ आलु मात्रै उत्पादन गरिने कार्कीले बताए । पाँचौं चरणको उत्पादन मात्रै सर्वसाधारणले खानका लागि प्रयोग गर्न सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here