नेपाली कविताका क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको नाम हो सुनिता खनाल । समाजका यथार्थ तत्वहरुको नालिबेली कवितामा ल्याउन पछिल्लो समय लागिपरिहेको श्रष्टा को रुपमा चिनीएकि कवि हुन उनि । धादिङ घर भई अहिले नेपालको संघिय राजधानी काठमाण्डौमा आफ्नो कविताकर्म गरिरहेकि युवा कवि हुन सुनिता । खासगरेर साहित्यका कार्यक्रमिक मञ्चहरुमा निरन्तर सहभागिता जनाईरहने नाम हो यो । पछिल्लो समय कविता संग्रह ओ नायक मार्फत पुस्तकाकार उपस्थिती जनाएकि यि कवि को कविता फिनिक्स बुक्सले बजारमा ल्यएको हो । उनै कवि संग ग्लोवल पोष्टका लागि ज्योति भट्टराईले गरेको अन्तर्बाता हामिले प्रस्तुत गरेका छौं ।
ओ नायक सँग कत्तिको संतुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त छु तर पूर्ण सन्तुष्ट भने छैन । जब पूर्ण सन्तुष्ट हुन्छु नि म, मलाई लाग्छ त्यसपछि मेरो लेखनीमा ह्रास आउन सक्छ । केही केही कुरा अपुग लाग्नु नै अझै केही राम्रो लेख्नको लागि बाटो बनिरहनु हो । त्यसकारण पूर्ण सन्तुष्टिको बिन्दुमा पुग्नचाहिँ केही प्रतिशत बाँकी नै छ ।

कविताले राजनीति गरेको राम्रो हो, गर्नुपर्छ । तर कविताभन्दा ज्यादा कविले राजनीति गरिरहँदा कविताप्रति अन्याय हुनसक्छ ।

नेपाली बजारमा कबिता ले कत्तिको स्थान पाउँदोरहेछ ?
नेपाली कविताको बजार उर्बर छ । मेरो सवालमा कुरा गर्नुपर्दा म कविताकै माध्यमबाट समाजसित संघर्ष गरिरहेकी हुन्छु । बिक्रिको हिसाबले कविता आख्यानभन्दा कम बिक्छ, यो सत्य हो । तर बिक्नु मात्र स्थान पाउनु होइन जस्तो लाग्छ । हजारौँ मान्छेको हृदय सुम्सुम्याउन सक्ने शक्ति कवितामा जति हुन्छ त्यो शायदै अरु विधामा होला । राम्रो कविता छ भने छापाखाना पनि तपाइँकै पर्खाइमा छ र अनेकौँ प्लार्टफम तथा मञ्चहरु पनि तपाइँकै पर्खाइमा रहेका छन् ।
प्रतिक्रियाहरु कस्तो कस्तो आईरहेका छन ?
अहिलेसम्म एकदमै सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । कहिलै नचिनेका नदेखेका अनगिन्ति पाठकहरु पनि कमाएकी छु । जुन मेरो लागि सुखद कुरा हो । बिदेश र स्वदेशबाट मेरै हस्ताक्षर सहितको ओ नायक पनि मगाउनुहुन्छ । पढेर प्रतिक्रिया दिनुहुन्छ । खुसी लाग्दोरहेछ ।
महिला भएर यो क्षेत्रमा आफ्नो उपस्थिती जनाउने कुरा कत्तिको चुनौतिपुर्ण लाग्छ तपाँईलाई ?
कविताको लिंग हुन्छ जस्तो लाग्दैन मलाई । म महिला वा पुरुष जो भए पनि केही फरक पर्दैन भन्ने सोच बोकेर आएको मान्छे । फूल कोमल र काँडा जहिले बिद्रोही हुन्छ नि हुन त । तर काँडा नहुने हो भने फूलको अस्थित्व हुँदैन । ठीक त्यस्तै लाग्छ मलाई चुनौती नहुने हो भने महिलाको पनि अस्थित्व कम हुन्छ । त्यसैले मलाई चाहिँ जुनकुनै क्षेत्रमा चुनौती हुनु गज्जबको मज्जा लाग्छ ।
काब्यिक शौन्दर्यको सवालमा तपाँई आफुलाई कुन पृष्ठभुमीले डो¥यायो ?
सबैभन्दा बढी त मेरो रुचि हो । त्यसको लागि पहिलो अवसर स्कूल थियो । म विधालय र जिल्लास्तरिय विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भैरहने अवसर पाइरहन्थेँ । विभिन्न पुरस्कार जितिरहन्थेँ । मलाई पुरस्कार केही राम्रो गर्नको निमित्त एउटा राम्रो हौसला हो भन्ने लाग्छ । कक्षा ७ पढेदेखि हात हाल्न थालेको कविताको यात्रा यो अवस्थासम्म आइपुग्दा विभिन्न कविहरुको संगतमा पनि छु, मनन गर्नलायक कुराहरु सुन्ने गर्दछु । तर मुख्य कुरा काब्यिक सौन्दर्य भन्ने चिज पृष्ठभूमि भन्दा ज्यादा कविको अन्तस्करणबाट आउने कुरा हो ।
महिला र पुरुष बिचको निकै ठुलो बिभेद भएको समाजमा स्वप्नशिल भएर बाँच्नु कत्तिको गाह्रो छ ? या सजिलै हुन्छ ?
माथि भनिसकेँ नि, सजिलो त कहिलै पनि हुन्न । गाह्रो वा चुनौती जहाँ छ त्यो मलाई झन् अवसर लाग्छ । मेरो कविता संग्रह ओ नायकभित्र पनि पढ्न सक्नुहुन्छ मैले गाह्रो, दुख र चुनौतीलाई नै अवसर बनाएकी छु । महिला र पुरुष बीच खाडल हुनु पक्कै पनि राम्रो त होइन । त्यस्तो समाज परिवर्तन गर्न महिला सक्षम छन् र हुनुपर्छ ।
तपाँइको बिचारमा कविता के हो ?
यो प्रश्न तपाइँले जति सजिलोसित सोेध्नुभो, तर मलाई यसको उत्तर भने त्यति सजिलो हुन्छ जस्तो लाग्दैन । कविता यहि हो भन्ने मानक परिभाषा पनि हालसम्म छैन । मेरो विचारमा मान्छेको हृदयलाई छामेर कलात्मक रुपमा समाजसित गरिएको संवाद होे कविता । जसको ध्येय जहिलै सकारात्मक परिवर्तनको हुन्छ । कविता लेखिरहँदा कवि पहिला आफैँ सन्तुष्ट हुन्छ, अनि समाजलाई सन्तुष्ट पार्नमा चेष्टारत हुन्छ ।
तपाँई कवितानै किन लेख्नु हुन्छ ? साहित्यका अन्य बिधामा किन आउनुभएन र कवितालाईनै रोज्नुभयो ?

1मेरो रुचि । कवितासित मेरो गहिरो प्रेम छ । प्रेम जोसित गरिन्छ उसैसित त रमाउन सकिन्छ, होइन र ? मलाई चिनायो पनि कविताले । चुनौती पनि कवितामै छ । कवितामा जति खुसी म आफूलाई अरु विधामा भेट्टाउदिनँ । कविताको विम्ब, विचार र कलासित यो गहिरो प्रेमको लत रहेसम्म म कविता नै लेखिरहनेछु ।

तपाँइका कवितामा अलि धेरै सेन्टिमेन्टल चिज हरु छन भन्छन् नि समालोचक हरु तपाँईलाई के लाग्छ ?
सेन्टिमेन्टल पनि त आवश्यक हुन्छ नि । नत्र त मान्छे र पत्थरमा फरक के ? केही छन् तर सबै छैनन् । समालोचकको आँखा र मेरो मनको आँखा एउटै हुनुपर्छ भन्ने पनि त छैन नि । म उहाँहरुको विचारको सधैँभरि सम्मान गरिरहनेछु र आफूले सकेजति राम्रो गर्ने कोसिसमा हमेशा नै हुनेछु ।
अघि सोधियो महिलाका समस्या अब भन्नुहोस कवितामा महिलाका कुरा र तिन्का चौतर्फि चेतना ल्याउन कति समस्या छन ? कि छैनन् ?
पहिलो कुरो म महिलावादि वा नारिवादि कविता मात्रै लेख्ने कवि होइन । त्यसैले महिलामा मात्र जोडेर प्रश्न गरिरहन त्यति आवश्यक देख्दिनँ । यो सत्य हो, म लैंगिक रुपले महिला भएको कारण आम महिलाका समस्याहरुसित परिचित भने निश्चय नै हुन्छु । सहरमा रहेका महिलाको तुलनामा ग्रामिण महिलामा चेतना कम नै छ । महिलाका कुरा र तिनमा चौतर्फि चेतना ल्याउन समस्या त छ, तर असम्भव भने देख्दिनँ ।
कवितामा बिचार चाहिन्छ कि कला ?
दुबै । यी दुबै कुरा कविताको लागि आवश्यक छन् । दुवैको सुन्दर संयोजन हुन सक्यो भने निश्चय नै राम्रो कविता बन्न सक्दछ ।
 
बिम्ब निर्माणका सवालमा पछिल्लो समय कस्ता कस्ता चुनौतिहरु आईरहेका छन् ? तपाँइलाई आएका छन कि छैनन् त्यस्ता आरोप हरु ?
आफ्नो मौलिक विम्ब निर्माण गर्नु भनेको कठीन तर सुन्दर कुरा हो । मैले पनि त्यस्ता केही विम्बहरुलाई जन्माएकी छु । जस्तै, भुइँलिकाला । पाठकहरु विभिन्न थरिका हुन्छन् । उनीहरुको चेतनाको स्तर फरक फरक हुन्छन् । कसैलाई मज्जाले मन परेको कविता, त्यसमै अर्कोले आरोप पनि लगाइरहेको हुन्छ । त्यसैले आरोपबाट अछुतो त म पनि हुन सक्दिनँ नि । त्यसले पनि मलाई खुसी नै दिन्छ र सकारात्मक रुपमा लिने गर्छु ।
नाटकिय कविता बाचनले कविता कत्तिको बाँच्छ जस्तो लाग्छ तपाँईलाई ?
कविता कवितै हुनको लागि पहिलो सर्त त टेक्स्ट नै हो । वाचन पनि आवश्यक हुन्छ, तर नाटकजस्तो गरेर वाचन गर्न जानेको मान्छेले त कथालाई पनि वाचन गरेर स्रोताको इमोशनलाई किन्न सक्छ नि । मलाई कविता सहज खेलको रुपमा लिने विधा हो जस्तो पटक्कै लाग्दैन । कालान्तरमा बाँच्ने भनेको कविताको वाचन होइन, टेक्स्ट नै हो । त्यसैले वाचन जसरी गर्नुस् तर, टेक्स्ट बलियो चाहिन्छ ।
पछिल्लो समय कविताको शक्ति कमजोर भएको छ भन्ने आरोप छ नि ? के लाग्छ तपाँईलाई ?
मलाई त पछिल्लो समयका कविता झन् बलिया छन्् जस्तो लाग्छ । आरोप त जे पनि लाग्न सक्छ । सबै अब्बल छन् भन्न म सक्दिनँ । कमजोरै भएको आरोप चाहिँ नयाँ पुस्ताको अस्थित्वलाई स्वीकार गर्न नसक्नेहरुले लगाउनुभएको होला । त्यो उहाँहरुको कुरा हो । तर म अग्रजहरुलाई सधैँ नै सम्मानको आँखाबाट हेर्छु ।
कविताको शत्ति कमजोर भएको हो कि कवितानै कमजोर लेखिन थालेको हो ?
यहि हो भनेर ठोकुवा गर्नलाई म समालोचक वा समीक्षक परिनँ । म त्यति कमजोर कविताको संगतमा छैन हँुला कि । रहरले पनि लेखिएका कतिपयका भावना होलान्, त्यो कमजोर कविता भन्दा पनि कविता हो कि होइन भनेर छुट्याउन सक्ने सामथ्र्यको जरुरी छ । कमजोर र बलशाली भन्ने कुरा त हरेक युगमा भैरहेकै हुन्छ नि । एउटा जिम्मेवार कविले कविताको शक्ति चिनेको हुन्छ र उसलाई चिनाउने भनेको पनि उसको कविताको शक्तिले नै हो जस्तो लाग्छ ।
कविताको लिगेसि लाई लिएर बहस गर्दा पारिजात पछि नेपाली कवितामा देखीएको खाली ठाँउ भर्न अहिलेका महिला कविहरु कत्तिको सामाथ्र्य राख्छन ?
पारिजातको कविता र आख्यानको म पनि फ्यान हुँ । उनीमाथि म गर्व पनि गर्छु । तर पारिजातविना कवितामा खाली ठाउँ नै हुन्छ भन्नु चाहिँ महिला कवि तथा सहित्यकारमाथिको अन्याय हुन्छ कि जस्तो लाग्छ । उनी पछि पनि थुप्रै कविहरु आएका छन् जो हरेक तवरले सक्षम छन् । त्यो देखि यो समयसम्म आइपुग्दा तपाइँ हामीले गर्व गर्न लायक महिला लेखकहरु आएका छन्, जसले कविताकोे क्षेत्रमा महत्वपूर्ण योगदान दिने सामथ्र्य राख्छन् ।
कवितामा जीबन र समाज आउनुपर्छ कि पर्दैन ?
जीवन र समाज हटाइदिने हो भने कविता के का लागि ? केको बारेमा ? यी प्रश्नहरु जन्मन थाल्छन् । कविता भनेकै जीवन र समाजको उपचारको लागि हो भन्छु म । जीवन र समाजविना त कविताको आत्मै मर्छ । मज्जाले आउनुपर्छ ।
कविताले राजनिती गर्छ कि गर्दैन ? कविताले समाजलाई कस्तो किसिमको योगदान दिन्छ ?
कविताले राजनीति गरेको राम्रो हो, गर्नुपर्छ । तर कविताभन्दा ज्यादा कविले राजनीति गरिरहँदा कविताप्रति अन्याय हुनसक्छ । राजतीति, समाज एक अर्काका परिपुरक हुन् । समाज, समय, घटना र परिघटनामाथि कविताले बडो चलाखिपूर्ण राजनीति गरेको हुन्छ । त्यो स्वभाविक हो । कविता समाजमै जन्मिन्छ, समाजमै हुर्किन्छ र समाजमै बाँच्ने गर्छ । कविताले समाज परिवर्तनको एउटा गतिलो माध्यम बनेर योगदान दिन सक्छ ।
काब्यिक कल्पनाको रुझानलाई सामाजीक तथा राजनैतीक पृष्ठभुमीले कत्तिको प्रभाब पार्छ जस्तो लाग्छ तपाँईलाई ?कल्पनाभन्दा ज्यादा म यथार्थसँग नजिक रहन मन पराउँछु । यति हुँदाहुँदै पनि कवितामा कल्पना मिसिनै जान्छ र त्यो स्वभाविक पनि हो । समाज, राजनीति र कल्पनाले कवितासित साक्षत्कार गर्छ जस्तो लाग्छ ।
श्रृजना धर्म सँग के के जोडिएर आउँछ जस्तो लाग्छ तपाँईलाई ?
जीवन, समाज, देश, धर्म, सस्कृति रितिरिवाज, भाषा, शिल्प र समय । यिनैको बीचमा बसेर गरिन्छ सृजना । अरु भनेको सेकेन्डरी कुरा हुन् जस्तो लाग्छ ।
कविता यात्रामा तपाँई कति लामो समय सम्म रहनुहुन्छ ? आख्यान तिर लम्कने बारे सोच्नुभएको छ कि छैन ? छ भने किन सोच्नुभएको हो ? छैन भने किन नसोच्नु भएको हो ?
बाफरे, कतिक लामो सवाल । म कसरी भनुँ कति समय रहन्छु भनेर ? जहिलेसम्म मेरो मनलाई सकारात्मक उर्जा दिन्छ र समाजलाई थोरै भए पनि केही दिन सकेको आभाष हुन्छ रहिरहन्छु । आख्यानतिर जाँदै जान्न त भन्दिनँ । जान्छु होला । तर अझै केही समय कवितासितै प्रेम गरिरहने मन छ । जसले मलाई खुसी दिइरहेको छ ।