३८४ स्थानका लागि आज ४४८२ जना भिड्दै : चुनाव विथोल्न खोज्नेलाई गोली ठोक्ने आदेश

चुनाव विथोल्न खोज्नेलाई गोली ठोक्ने आदेश

0
2733

 
२१ मंसीर, २०७४, नेपाल |
   आज हुने दोस्रो चरणको निर्वाचनमा १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभाका लागि ४ हजार ४सय ८४ जना चुनावी मैदानमा भ्दिैछन् । यस अघि पहिलो चरणको निर्वाचन ३२ जिल्लामा भएको थियो । आज दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि १ हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले अनुमान गर्नु भएको छ ।


यसैबीच सुरक्षा व्यवस्थाको पूर्ण प्रवन्ध मिलाइएकोले ढुक्क भएर मतदान गर्न सरकारले आग्रह समेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि सुरक्षा व्यवस्था राम्रो मिलाइएकोले कसैले पनि चिन्ता नलिई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह समेत गर्नु भएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।
सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।
निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभएको छ । चुनावमा कुनै घटना भइहालेमा कममा पाँच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशको तथ्याङ्क सहितको समाचार
प्रदेश नम्बर १
प्रदेश नम्बर एकका ७ वटा जिल्लामा आज चुनाव हुँदैछ । यी जिल्लामा २१ वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअघि सातवटा जिल्लाका सात वटा निर्वाचन क्षेत्रमा चुनाव भैसकेको छ । प्रदेश नम्बर एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् । आज चुनाव हुने मोरङमा ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २ र २ क्षेत्र छन् भने धनकुटा र तेह्रथुममा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर एकका २९ लाख ९३ हजार ७ सय ७४ मतदाता मध्य आज २२ लाख ७४ हजार ५ सय ९८ मतदाताले भोट हाल्दैछन् । आज चुनाव हुने प्रदेश नम्बर एकमा २ हजार ७ सय १८ वटा मतदान केन्द्र रहेका छन् ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ का सबै जिल्लामा आज चुनाव हुँदैछ । यो प्रदेशका ८ जिल्लामा चार चारवटा गरि ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश दुईका कुनैपनि क्षेत्रमा पहिलो चरणमा चुनाव भएको थिएन । प्रदेश नम्बर दुईमा सिरहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट जिल्ला पर्छन् । यी जिल्लामा २७ लाख ६७ हजार ३ सय ७५ जना मतदाता रहेका छन् । आठ जिल्लामा ३ हजार ६ सय ७९ मतदान केन्द्र तोकिएको छ ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर तीनका सातवटा जिल्लामा आज चुनाव हुँदैछ । १३ जिल्लाका ३३ वटा निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भैसकेको छ । आज चुनाव भैरहेका काठमाडौंमा १०, भक्तपुरमा २, ललितपुरमा ३, काभ्रेपलान्चोकमा ३, चितवनमा ३, मकवानपुरमा २ र सिन्धुलीमा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी क्षेत्रमा २० लाख ७३ हजार ३ सय ४४ जना मतदाता रहेका छन् । प्रदेश नम्बर तीनमा ३ हजार ७ सय ८५ मतदान केन्द्र रहेकोमा आज २ हजार ५ सय ३९ वटा मतदान केन्द्रमा चुनाव हुनेछ । अन्य ठाउँमा पहिलो चरणमै चुनाव भैसकेको छ ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर चारका पाँचवटा जिल्लामा आज चुनाव हुँदैछ । ११ जिल्लाका १८ निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भएको थियो । आज चुनाव भैरहेका नवलपरासी पूर्वका २, तनहुँका २, काँस्कीका ३, स्याङ्जाका २ र पर्वतमा एउटा निर्वाचन क्षेत्र रहेका छन् । ६ जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भएको थियो । प्रदेश नम्बर चारका १५ लाख ६८ हजार ९ सय २४ जना मतदातामध्य आज चुनाव भैरहेका जिल्लामा १० लाख ५ हजार ९ सय मतदाता रहेका छन् । यी क्षेत्रमा १ हजार २ सय ७४ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ का १० वटा जिल्लामा आज चुनाव हुँदैछ । ५ नम्बर प्रदेशका १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्य रुकुम पूर्व र रोल्पामा पहिलो चरणमा चुनाव भएको थियो । आज चुनाव हुने नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशका २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता मध्य आज चुनाव हुने क्षेत्रमा २५ लाख ८५ हजार ३ सय ७ जना मतदाता रहेका छन् । यो प्रदेशका ३ हजार ३ सय ६८ मतदान केन्द्र मध्य आज चुनाव हुने क्षेत्रमा ३ हजार १ सय ६६ मतदान केन्द्र रहेका छन् ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ का ५ वटा निर्वाचभन क्षेत्रमा आज चुनाव हुँदैछ । दैलेख र सुर्खेतका दुई दुई तथा सल्यानको एउटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुन लागेको हो । प्रदेश नम्बर ६ का १० वटा जिल्लामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये ७ वटा जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भएको छ । यो प्रदेशका ८ लाख ४६ हजार ९ सय ४१ जना मतदाता मध्य दोश्रो चरणमा चुनाव हुने जिल्लामा ४ लाख ७८ हजार ७ सय ३४ जना मतदाता रहेका छन् । १ हजार २ सय ४३ मतदान केन्द्र मध्य दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा ६ सय ३९ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ का ५ वटा जिल्लामा आज चुनाव हुँदैछ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये एक एक वटा निर्वाचन क्षेत्र रहेका ४ जजिल्लामा पहिलो चरणमा चुनाव भैसको छ । दोश्रो चरणमा चुनाव हुने कैलालीमा ५, कञ्चनपुरमा ३, डडेलधुरा, अछाम र डोटीमा एक एक वटा क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का १४ लाख ३५ हजार ६ सय ७३ मतदाता मध्य १० लाख ५० हजार ७ सय ३२ जना दोश्रो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । १ हजार ९ सय मतदान केन्द्र रहेको प्रदेश नम्बर ७ मा दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा १ हजार ३ सय २९ वटा मतदान केन्द्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here