विश्व महिला पर्व : तीज

0
1050

के मा हिन्दू महिलाहरू बाहेक अरू सहभागी हुनुहुँदैन भनेर कुनै धर्मशास्त्रमा उल्लेख छ वा नेपाली मिडियाहरूले जवरजस्ती “तीज”लाई हिन्दू महिलाको पर्व बनाएका हुन् ? वा तीज महिलाहरूको चाड हो वा हिन्दू महिलाहरूको मात्र ?

यी प्रश्नहरूले मलाई निकै सोच्न बाध्य पारेको छ |

तीज जुनसुकै कारणले वा जस्ले र जहिले आरम्भ गरेपनि अहिले नेपाली महिलाहरूको राष्ट्रिय चाडकारूपमा स्थापित भएको छ | मिडियाहरू र तथाकथित विभेदकारी दृष्टिकोणले “तीजलाई हिन्दू महिलाको मात्र” बनाउने भरमग्दूर प्रयत्न भए पनि नेपाली समाजमा यस्ता विभाजनकारी विचारको प्रभाव न्यूननै परेको छ |

हरेक वर्ष भदौको तृतीया तिथिका दिन भगवान् शिवको आराधना गर्दै महिलाहरूले सामुहिकरुपमा निराहार रहेर मनाउने हरितालिका ब्रतलाई “तीज” हो | यो महिलाहरूको सामाजिक, सांस्कृतिक तथा धार्मिक पर्व हो |

Dr. Govinda Raj Upadhyaya

संसारमा धेरै पर्वहरू छन् | यहुदी, इसाई तथा मुस्लिमहरूका आ-आफ्नै पर्व छन् | यी धर्महरूमा धार्मिक तथा सांस्कृतिक पर्वहरू झेत्लिएका छन् | तर यी तीनै धर्ममा “महिला-केन्द्रीत” कुनै पनि सामाजिक, धार्मिक तथा सांस्कृतिक पर्वको अभाव छ |

ब्राजीलमा मनाइने कार्निवल महिला केन्द्रीत पर्व हो र यस पर्वको त्यहाँको चर्चले सधैं निन्दा गर्छ | भोल्भियामा मनाइने “भर्जिन”मा महिलाहरूको खासै आकर्षण देखिन्न | यो पर्व जिससकी आमा मेरीको प्रसंसामा मानिन्छ | चिली, पेरु र न्युजिल्यान्डमा मनाइने नारीपर्वहरू “मेरी”कै प्रसंशाको बाटोमा छन् | चर्चले यी पर्वहरूलाई मान्यता दिंदैन |

मुस्लिमहरूको एकमात्र सामाजिक नारीपर्व “मोरक्को”मा इमिचिलका रूपमा महिलाहरूले मनाउछन् | यो पर्वले विधवा, विधुर तथा एकल महिला-पुरुषलाई स्वेच्छाले पतिपत्नी चुन्ने अवसर प्राप्त हुन्छ | यो महिलामात्रको पर्व होइन |

स्वाजिल्याण्डमा हरेक वर्ष युवतीहरूको ठूलो मेला लाग्छ | यो मेलाको उद्देश्य नारीहरूको उत्थान वा सम्मान गर्नुभन्दा पनि त्यहाँका राजाको अगाडी आफ्नो रूपप्रदर्शन गरेर आफुप्रति लोभ्याएर रानी बन्नु हुन्छ |

मैले फिनल्याण्डमा १९९० देखि मनाउन थालिएको “पत्नी उठाउने” प्रतियोगिता बाहेक पश्चिमा जगतमा नारी केन्द्रीत चाडवाड भएको मलाई थाहा छैन | यदि यस विषयमा कसैलाई थाहा छ भने जानकारी दिनुहुन अनुरोध गर्छु |

चाइना, जापान, कोरिया तथा भारत-नेपालमा महिला केन्द्रीत धेरै चाडवाडहरू छन् | ती मध्ये नवरात्री, लक्ष्मीपूजा तथा तीज प्रमुख छन् | तर तीजपर्व अन्य पर्वहरू भन्दा बेग्लै महिलाका लागि मात्रै समर्पित छ |

तीज विश्वको एकमात्र एस्तो महिला पर्व हो जहाँ महिलाहरूले पूर्णस्वतन्त्रताको अनुभूति र प्रयोग गर्छन् | यदि कसैका लागि स्वतन्त्रताको अर्थ तथा प्रयोजन केवल “स्वतन्त्रता पूर्वक यौनजन्य ब्यबहार” हो भने एस्तो ब्यबहारको परिकल्पना तीजले गरेको छैन |

मलाई बडो गर्व लाग्छ, आज तीज नेपालीमहिलाहरूको सबैभन्दा “प्रिय” चाड बनेको छ | विश्वभरी नै नेपाली-तीज परम्पराको प्रसंशा गर्न थालिएको छ | देशमा सबै तवकाहरू यसलाई समावेश गर्न थालेका छन् | सबै जातजाति तथा वर्गका महिलाहरूको यसमा अभिरुचि बढेको छ |

प्रगतिशील बन्नका लागि आफ्नै पर्व, रितिरिवाज तथा संस्कृतिको निन्दा गरेर आफ्नो आजीविका चलाउनेहरूका लागि एस्तो “समावेशीकरण” नराम्रो थप्पड हो | जातका नाममा, धर्मका नाममा, ठाउँका नाममा र भाषाका नाममा मान्छेलाई विभाजित गराउने विचारकहरूको निंद उडेको हुनुपर्छ |

अर्को कुरा, तीज जवर्जस्तीको पर्व होइन | यो अनिवार्य पर्व पनि छैन | इच्छा भएकाले निराहार ब्रत गर्दा हुन्छ, नसक्ने ब्रत नवस्दा हुन्छ | हरितालिका ब्रत प्रसंगमा स्पष्टसंग भनिएको छ “रोगी, अशक्त, बृद्ध, अविश्वासी तथा अनिच्छुकले” ब्रत लिनुपर्दैन |

मैले केही महिला तथा पुरुषपात्रहरूले “तीजलाई महिला अधिकार विरोधी” तथा “अन्धविश्वास”को प्रतीक भनेर निन्दा गरेको सुने | उहाँले जवाफ दिनुपर्छ मार्च ८ मा महिला दिवस मनाउन थालेको १ सय भन्दा बढी वर्ष वितिसकेका छन्, फेरी तीजको झैं महिलाहरूको यसमा किन सभागिता हुँदैन ? किन यो केवल डलर पचाउने पर्वका रूपमा मात्र सीमित छ ?

कुनै पर्व तवसम्म सफल तथा स्वीकार्य हुँदैनन् तवसम्म तिनको “जरोकिलो” आफ्नो धर्म, संस्कृति तथा संस्कारसंग जोडिएको हुँदैन | ८ मार्च महिलाहरूको पर्व हुँदै होइन, यो महिलाअधिकारको नाममा “खातेपिते” व्यक्तिका लागि सृजित गरिएको रोजगारीको साधन हो |

हो, तीजका सबै आचारप्रकारहरू सबैको लागि अस्वीकार्य होलान् तर यो पर्व हिन्दूमात्रको भने पटक्कै होइन | आफ्नो लाग्नेलाई माया गर्ने महिला सबै धर्म तथा नास्तिकहरूमा छन् | आफ्नो परिवार तथा आफन्तहरूलाई माया गर्नेहरू महिला सबैमा छन् | तीजको यो संदेश सबैतिर दिन्छ र विश्वभरीका महिलाहरूलाई “प्रेम, समावेशीकरण तथा आफ्नो धर्म संस्कृतिप्रति” सम्मान प्रकट गर्न प्रेरित गर्छ |

आफ्नो धर्म, संस्कृति तथा विचारको प्रसारप्रचार गर्न अन्य धर्महरूका धार्मिक तथा सांस्कृतिक चालचलनको ज्ञान हुनु राम्रो हुन्छ तर त्यस्तो ज्ञानकप प्रयोग अर्काको निन्दा गर्न, अर्काका कमजोरीहरू प्रकट गरेर बेइज्जेत गर्न प्रयोग गर्नुहुँदैन |

जुनसुकै धर्म वा संस्कृतिमा जन्मिएका महिलाले प्राकृतिक स्वतन्त्रता उपयोग गर्न पाउनैपर्छ | धर्म वा संस्कृतिका नाममा फलानो धार्मिकसमूहमा महिलाहरूको हिंसा हुन्छ भने चूप लगेर बस्न मिल्दैन | एस्तो अपराध तथाकथित धर्मनिरपेक्षतावादी सरकार र तिनका बुद्धिजीवीले मात्र गर्न सक्छन् |

महिलाको शरीरमा हिड्ने सबै मान्छेहरू महिला नै हुन्छन् | धर्म, संस्कृति तथा मान्यताका आधारमा तिनको शोषण हुँदा चूप लागेर बस्नेहरू महिलाका वास्तविक शत्रु हुन् | धर्म, धार्मिकता तथा अन्य प्रयोजनले नारीको स्वतन्त्रता कुण्ठित हुनुहुँदैन | मुस्लिम, हिन्दू, बौद्ध, जैन, इसाई समुहमा जन्म लिएको आधार मै अधिकारमा विविधता हुनुपर्छ भन्ने मान्यता पाखण्ड र मानवता विरोधी हो |

तीजको जरोकिलो नेपालमा छ | हामी नेपालीले यसमा गर्व गर्नुपर्छ | यस पर्वलाई विश्वपर्वको रूपमा स्थापित गर्ने कार्य हामी नेपालीहरूकै हो | यदि हाम्रा असल पर्वहरूको विषयमा हामीले बोलेनौं भने अरूले बोल्ने कुरै हुँदैन |

अन्तिम कुरा, हामीले तीज पर्वलाई “८ मार्च”लाई प्रतिस्थापित गर्दै विश्व महिला दिवसको रूपमा स्थापित गर्नेतिर प्रयत्न गर्नुपर्छ | हो, यसरी कुरा गर्दा केही “मानसिक दास”हरूलाई पिर पर्ला तर तीजको महानतालाई विस्थापित गर्न सक्दैन |

सबै मातृशक्तिहरूको जय होस्, सबै महिलाहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक समानता प्राप्त गरून् | तीज एस्तो विश्व नारी पर्व हो जसले उपरोक्त अधिकारहरूको प्रत्याभूति दिन्छ |

सर्वाधिकार – लेखकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here