साना व्यवसाय प्रवर्द्धन, रोजगारी सृजनामा जोड
अर्जुन प्रधान
आगामी जुन २७ मा रेनोल्ड्सबर्गस्थित हिमालयन एडल्ट डे केयर सेन्टरमा विशेष कार्यक्रम “व्यवसाय प्रदर्शनी-II” आयोजना गरिने भएको छ। विश्व शरणार्थी दिवस (World Refugee Day) को अवसरमा आयोजना गरिँदै गरेको यस कार्यक्रमको आयोजना भुटानी अमेरिकी चेम्बर अफ कमर्सले हिमालयन एडल्ट डे केयर सेन्टरको साझेदारीमा गर्न लागेको हो।
कार्यक्रममा ३० देखि ४० व्यवसायहरूको सहभागिता रहनेछ भने ३ सयदेखि ४ सय जना दर्शकहरूको उपस्थिति अपेक्षित गरिएको छ। आयोजकका अनुसार यस प्रदर्शनीमार्फत साना व्यवसायहरूलाई सेवा तथा उत्पादनहरू प्रदर्शन गर्ने मञ्च प्रदान गरिनेछ। साथै, रोजगारी खोज्दै गरेका व्यक्तिहरूका लागि स्थानीय सेवा तथा रोजगारी अवसरहरू समेत उपलब्ध हुनेछन्।
भुटानी अमेरिकी चेम्बर अफ कमर्सका उपाध्यक्ष रोहित सुवेदीले कार्यक्रममा जोड दिँदै भने,
“हाम्रो उद्देश्य व्यवसाय प्रवर्द्धन मात्र होइन, विविध पृष्ठभूमिबाट आएका समुदायहरूबीच सहिष्णुता, समावेशीकरण र आर्थिक सशक्तिकरणलाई प्रवर्द्धन गर्नु पनि हो। शरणार्थी तथा आप्रवासी समुदायले स्थानीय अर्थतन्त्र र समाजमा पुर्याउँदै आएको सकारात्मक योगदानलाई उजागर गर्नु आजको आवश्यकता हो।”
उनले थपे, “यस्ता कार्यक्रमहरू मार्फत हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्दै सामुदायिक सशक्तिकरणतर्फ अघि बढिरहेका छौं।”
के-के पाइन्छ प्रदर्शनीमा?
कार्यक्रमका प्रमुख आकर्षणहरू यस प्रकार रहनेछन्:
व्यवसायहरूको सेवा र उत्पादनहरू प्रदर्शन गर्ने अवसर
नयाँ उद्यमीहरूका लागि स्रोतहरू र मार्गदर्शन
स्थानीय सेवा प्रदायक र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क
रोजगारीका अवसरहरूमा सजिलो पहुँच
सामुदायिक सहिष्णुता, विविधता र समावेशीकरणको उत्सव
समुदायलाई खुला निम्तो
आयोजकहरूले कार्यक्रममा स्थानीय नेपाली, भुटानी, एशियाली तथा अन्य आप्रवासी समुदायहरूलाई सहभागी भई नेटवर्किङ र अवसरहरूको उपयोग गर्न आह्वान गरेका छन्। कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क खुला रहनेछ।
कार्यक्रम विवरण
स्थान: हिमालयन एडल्ट डे केयर सेन्टर, रेनोल्ड्सबर्ग, ओहायो
मिति र समय: जुन २७, अपराह्न ३ बजे देखि ६ बजे सम्म
भविष्यमा अझ ठूलो र प्रभावकारी व्यवसाय प्रदर्शनी आयोजना गर्ने लक्ष्य लिएको भुटानी अमेरिकी चेम्बर अफ कमर्सले यो वर्षको प्रदर्शनीलाई सफल बनाउन सबैको सहभागिता अपेक्षा गरेको जनाएको छ।