नेपाली भाषा, साहित्य र संस्कृतिको विश्व अभियान ,छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन

0
11

नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन (GICC VI) आगामी जुन १३ देखि १५ सम्म नेदरल्यान्ड्सको द हेग शहरमा आयोजना हुँदैछ।

यस सम्मेलनका अध्यक्ष डीपी शर्मा मैनाली नेपाली मूलका डच नागरिक हुन्। २७ वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित मैनाली हाल नेदरल्यान्ड्सको द हेग विश्वविद्यालय (The Hague University of Applied Sciences) मा सह-प्राध्यापक तथा डेल्फ्ट प्रविधि विश्वविद्यालय (Delft University of Technology) मा प्राध्यापन र अनुसन्धानमा सक्रिय छन्।

उनी शिक्षा मार्फत सामाजिक परिवर्तनको शक्तिमा विश्वास गर्छन् र विश्वव्यापी मुद्दाहरूमा सक्रिय मानव अधिकार अभियन्तापनि हुन्। साथै, नेपाल, नेपाली साहित्य, संगीत र पूर्वी दर्शनमा कलम चलाउने साहित्यकार हुन्। उनी नेदरल्यान्ड्सको नेपाली भाषी इन्जिनियरहरूको सङ्घका संस्थापक अध्यक्ष र हाल संरक्षकको भूमिकामा सक्रिय छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको विश्व सञ्जालका सल्लाहकार पनि हुन्।

ग्लोबलपोस्टका सम्पादक अर्जुन प्रधानले सम्मेलनको उद्देश्य, तयारी र भावी दृष्टिकोणबारे डीपी शर्मा मैनालीसँग विशेष कुराकानी गरेका छन्। प्रस्तुत छ सोही अन्तरर्वार्ताको सम्पादित अंश:

अर्जुन प्रधान (अ.प.):

सर्वप्रथम, तपाईं आफैंको परिचय दिनुहोस्।

डीपी शर्मा मैनाली (डी.श.म.):

म डीपी शर्मा मैनाली, नेपाली मूलको डच नागरिक हुँ। भूटानमा जन्मिएको, हाल नेदरल्यान्ड्समा अध्यापन र अनुसन्धानमा कार्यरत छु। शिक्षा र समाज सेवा मेरो जीवनको अभिन्न हिस्सा हो।

अ.प.:

GICC VI अन्य सम्मेलनहरूभन्दा विशेष के बनाउँछ?

डी.श.म.:

GICC VI केवल सम्मेलन होइन, एउटा आन्दोलन हो। यो “शान्ति, प्रगति र समृद्धि (Peace, Progress, Prosperity)” को सन्देशसँगै नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अभियान हो। नेपाली पहिचानलाई विश्वसामु उजागर गर्ने यो एक अनौठो अवसर हो।

अन्तरपुस्तीय संवाद र युवा पुस्ताको सशक्तिकरण

अ.प.:

नेपाली समुदायका विभिन्न पुस्तालाई कसरी एकै मञ्चमा ल्याउन लागिएको छ?

डी.श.म.:

GICC VI ले पहिलो पुस्तादेखि तेस्रो पुस्तासम्मका नेपालीहरूलाई एउटै साझा मञ्च दिन्छ। यहाँ सिर्जनात्मकता, विज्ञान, दर्शन र सामाजिक समावेशीताको अद्वितीय संगम प्रस्तुत हुनेछ। यसरी पुस्तान्तरण र अनुभव आदानप्रदान सशक्त बन्नेछ।

अ.प.:

युवा पुस्तालाई सम्मेलनले कसरी प्रेरित गर्ने अपेक्षा गरिएको छ?

डी.श.म.:

“स्वीकारोक्ति” दर्शन अन्तर्गत निबन्ध लेखन (Essay Writing) प्रतियोगिता लगायतका कार्यक्रममार्फत युवामा आत्म-स्वीकृति, सहिष्णुता र सकारात्मक सोच विकास गरिनेछ। उत्कृष्ट बालप्रतिभाहरूलाई विशेष सत्रमा वक्ता (Panelist) का रूपमा प्रस्तुत गरिनेछ।

विज्ञान र दर्शनको संयोजन

अ.प.:

Science & Philosophy Conference किन थपिएको हो?

डी.श.म.:

समाजको समग्र विकासका लागि वैज्ञानिक सोच र साहित्यिक चेतना सँगसँगै हुनु जरुरी छ। विज्ञानले यथार्थमा उभ्याउँछ भने साहित्यले मानवीय चेतना फैलाउँछ। यी दुईबीच सन्तुलित सहकार्य स्थापित गर्ने प्रयास हो यो सम्मेलन।

अन्तर्राष्ट्रिय सहभागिता र सहकार्य

अ.प.:

अन्तर्राष्ट्रिय सहभागिता कत्तिको उत्साहजनक छ?

डी.श.म.:

१६ देशका लेखक, कलाकार र बौद्धिक व्यक्तिहरूको सहभागिता अपेक्षित छ। संख्याभन्दा गुणस्तरमा ध्यान दिइएको छ। TU Delft, The Hague University र ASAN Netherlands जस्ता संस्थासँग सहकार्यले सम्मेलनलाई अझ सशक्त बनाएको छ।

अ.प.:

गैर-नेपाली समुदायलाई कसरी समेट्ने प्रयास भइरहेको छ?

डी.श.म.:

हामी आवासीय वा गैर-आवासीय भन्ने छुट्याउँदैनौं। नेपाली मूलका सबैलाई समान रूपमा आमन्त्रण गरिएको छ। साझा पहिचान जोगाउनका लागि यो एकता अपरिहार्य छ।

चुनौती र अवसर

अ.प.:

नेपाली साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन मुख्य चुनौती के छन्?

डी.श.म.:

भाषिक विविधता, स्रोतको अभाव र प्रवासी पुस्तामा चासोको कमी मुख्य चुनौती हुन्। तर डिजिटल प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्य मार्फत यी चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ।

व्यक्तिगत प्रेरणा र सन्देश

अ.प.:

तपाईंलाई यो अभियानमा लाग्न प्रेरणा के हो?

डी.श.म.:

नेपाली भाषा, साहित्य र संस्कृतिप्रति गहिरो माया छ। प्रवासी पुस्तामा यसको संरक्षण र प्रवर्द्धन गर्नु मेरो लागि दायित्व हो। हामीले आज जे पाइरहेका छौं, त्यो हिजोका पुस्ताले आफ्नो पहिचान बचाएर अगाडि बढेकै कारण सम्भव भएको हो।

अ.प.:

युवाहरूप्रति के सन्देश दिन चाहनुहुन्छ?

डी.श.म.:

प्रिय युवा साथीहरू, आत्म-स्वीकृति, सहिष्णुता र इमानदारी सँग अघि बढ्नुहोस्। फरक हुनु सामान्य कुरा हो। सकारात्मक सोच राख्दै सही कुराका लागि आवाज उठाउनुहोस्। “Be Real, Be Kind, Be You” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नुहोस्।

अ.प.:

भविष्यमा GICC लाई कस्तो रूपमा विकास गर्न चाहनुहुन्छ?

डी.श.म.:

GICC लाई अन्तर्राष्ट्रिय सिर्जनात्मक आन्दोलन को रूपमा विकसित गर्ने चाहना छ — जहाँ भाषा, विज्ञान, दर्शन र मानवता एउटै यात्रामा अघि बढून्। म सधैं सकारात्मक र रचनात्मक काममा सहयोग गर्न तत्पर छु।

अ.प.:

धन्यवाद डीपी शर्मा मैनाली सर। ग्लोबलपोस्टका तर्फबाट तपाईंलाई आगामी सम्मेलनका लागि शुभकामना।

डी.श.म.:

धन्यवाद अर्जुनजी। म तपाईंहरू सबैलाई द हेग, नेदरल्यान्ड्स मा आयोजना हुने यस सम्मेलनमा हार्दिक निमन्त्रणा दिन चाहन्छु।

© ग्लोबलपोस्ट

अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here