“पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू” नामक वृत्तचित्र सार्वजनिक

0
212

अर्जुन प्रधान

“पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू” शीर्षकको एक सशक्त वृत्तचित्र हालै सार्वजनिक गरिएको छ। यूनिभर्सिटी अफ मेसाचुसेट्स (यूमास) को इतिहास विभागसँगको सहकार्यमा भूटानी सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्स (BSWM) द्वारा निर्माण गरिएको यो वृत्तचित्रले लामो समयदेखि मौन रहेको भूटानी शरणार्थी समुदायको पीडादायी इतिहासलाई पहिलो पटक दस्तावेजी ढंगले प्रस्तुत गरेको छ।

मास ह्युमनिटिज र म्यासाचुसेट्स राज्यको एसियाली अमेरिकी तथा प्यासिफिक आइल्यान्डर्स आयोगको आर्थिक सहयोगमा सम्पन्न यो मौखिक इतिहास परियोजनामा पश्चिमी म्यासाचुसेट्समा बसोबास गरिरहेका ५० वर्षमाथिका ६ जना भूतपूर्व शरणार्थीहरूको जीवन अनुभव समेटिएको छ। ती पात्रहरू हुन्: नारद अधिकारी, राम गुरुङ, दिल तामाङ, नारायण अधिकारी, भीम तिवारी र गंगा शर्मा।
अन्तर्वार्ताकारका रूपमा केविन दर्जी र लिला चम्लागाईंले भूमिका निर्वाह गरेका छन् भने भिडियो सम्पादन तथा ट्रान्सक्रिप्सनमा हरि खनाल र रमन खनाल सक्रिय रहे।

तस्बिर सौजन्यः- हरि खनाल

वृत्तचित्रले भूटानमा नेपालीभाषी लोछाम्पा समुदायमाथि ‘ड्रिगलम नामजा’ नीतिका नाममा भएको भाषा, संस्कृति, वेशभूषा र नागरिकतामाथि भएको हस्तक्षेप र १९८५ को नागरिकता ऐनपछि सुरु भएको योजनाबद्ध निष्कासनको कथा सुनाउँछ। लाखौं नेपालीभाषीहरूलाई अवैध नागरिक घोषणा गरी “स्वैच्छिक” माइग्रेसन फारममा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसका कारण उनीहरू आफ्नै देशबाट बलात् निर्वासित भए।

भारतमार्ग हुँदै नेपाल आएका उनीहरू झापा र मोरङका शरणार्थी शिविरमा पुग्न बाध्य भए। अत्यधिक अभावमा बिताएका ती २२ वर्षका शिविर जीवनमा पनि उनीहरूले सामुदायिक विद्यालय सञ्चालन गरे, स्वास्थ्य सेवा पुर्‍याए र सहनशीलताको उदाहरण प्रस्तुत गरे। तर नागरिकताको टुंगो नलागेपछि, संयुक्त राष्ट्र संघीय शरणार्थी संस्था (UNHCR) को पहलमा तेस्रो देश पुनर्वासको प्रक्रिया सुरु भयो।

पश्चिमी म्यासाचुसेट्स आइपुगेपछि उनीहरूले पुनः नयाँ देश, भाषा, समाजसँग जुध्दै आफ्नो पहिचान र भविष्य निर्माणको यात्रा थाले। आज उनीहरू शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी र स्वास्थ्यकर्मीको रूपमा स्थापित भइसकेका छन्। नयाँ पुस्तालाई शिक्षा र संस्कार हस्तान्तरणमा उनीहरूको योगदान उल्लेखनीय छ।

परियोजना निर्देशक दुर्गा गिरिको नेतृत्वमा तयार भएको यो वृत्तचित्र केवल भूतकालको दस्तावेज होइन, यो वर्तमान र भविष्यका लागि एउटा ऐतिहासिक साक्षी पनि हो।
हरि खनाल भन्नुहुन्छ ‘पश्चिमी म्यासाचुसेट्समा भूटानीहरूको नभनिएका कथाहरू’ यस्ता मौन आवाजहरूको समुच्चय हो, जसले हजारौं जीवनका सत्यतालाई सार्वजनिक बनाउँछ। यो केवल पश्चिमी म्यासाचुसेट्सका लागि होइन, सम्पूर्ण मानवता र इतिहासका लागि सन्देश हो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here