काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका एक सय पचास जना व्यक्तिहरूलाई विजया दशमीको दिन रातको ८:०० बजे देखी विहानको २:४५ बजेसम्म रातो टीका, जमरा दक्षिणासँगै भोजन सेवा गराएका थिए ।
५ वर्षदेखी अनवरत रुपमा असहाय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा, अनाथ बालबालिकाहरुलाई खाना खुवाउँदै आएका प्रदिपले यसपाली २०८१ सालको बडादशैंमा आफू घर नगई सडकपेटी, पूलमूनी र ढलको पाइपभित्र रात कटाउनेहरुलाई टीका लगाइदिएका हुन् ।
बडादशैंको अवसरमा उनले सडक पेटीमा बस्नेहरुको खाली निधारमा रातो टीका, जमरा र रातो खाममा दक्षिणा अनि प्रसादको रुपमा खिर र तरकारी प्रदान गरेका हुन् । कोरोना महामारीका बेला देखी ‘तातो खाना’ अभियान चलाएका प्रदीपले वितकाका वर्षहरुमाझैं यसपालीको बडादशैंमा पनि रातो टीका अभियान चलाएका हुन् ।
प्रदिपले पुष माघको कठ्याङ्ग्रिदो जाडोको समयमा न्यानो लता कपडा विरतण गर्दैै आएका छन् भने उनले लकडाउनको समयभरी तातो खाना अभियान चलाएको जानकारी दिए । प्रदिप भन्छन्, ‘कोरोना महामारीको समयदेखी आजसम्म आइपुग्दा सम्भवतः ४ लाख ५० हजार जनालाई तातो खाना खुवायौं भने हजारौंको संख्यामा पशुपंक्षी लगायत लाखौं कमिलालाई भोजन गराएका छौं तर ठ्याक्कै तथ्याङ्क छैन् । तर पनि दैनिक सयौ जनालाई सेवा प्रदान गर्दै आइरहेको छौं ।’
सबै नेपालीहरु आ–आफ्नो घरमा धुमधामसंग दशै मनाइरहँदा प्रदिपले भने खाना पकाएर सडकका गल्ली गल्लीमा पुगेर टीका लगाइदिएका छन् । उनको यो पूयण्को कार्य अत्यन्तै सरहानीय छ । उनको यस कार्यमा सबैले सहयोग गर्न अत्यन्तै जरुरी छ । हाम्रो सानो सहयोगले भोको पेट भरिन सक्छ भने प्राण बचाउने भोजन सेवा कार्य सबै धर्महरुभन्दा उच्च रहेको विभिन्न धर्मशास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । भगवान् बुद्धले पनि सेवा नै परम धर्म भनेर भन्नुभएको छ । समाजसेवी प्रदिप घिमिरे भन्छन्, ‘मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत मेरो अन्तर्मन नै हो । यो मनलाई चलाउने स्वयं भगवान् हुनुहुन्छ । भगवानले मलाई यो मन दिनुभएको हो । भगवानले अराउनुभएको कार्य मैले गरेको हो जुन दृष्य लकडाउन पछि मैले दिन दिनै देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।’
‘परोपकार पूण्यायः’ भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका तमाम असहाय वर्गले दुई छाक खाना खान पाएपछि कलेटी परेका ओठमा मुस्कान ल्याउन प्रयास गरें । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर मैले सञ्चालन गरिरहेको परोपकारी अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद प्रदान गर्नुहुने स्वदेश तथा विदेश्मा आसीन समस्त सहयोगी मनहरुप्रति नतमस्तक छु, म समस्त सहयोगी महानुभावहरुप्रति शिर झुकाएर कोटी कोटी नमन गर्दछु । म त केवल सेतु मात्र हो, यो सेवा भगवानबाट सञ्चालित छ, म माध्यम बनेको मात्र हो । संसारभरका सहयोगी भावनाले ओचप्रोत हुनुभएका भगवानरुपी मनहरुनै हाम्रो अभियानको साक्षात भगवान् हो भनेर मैले अनुभूति गरेको छु अतः यस कार्यको सम्पूर्ण श्रेय म व्यक्तिगतरुपमा सहयोगी दाताहरुलाई नै अर्पण गर्न चाहन्छु’, उनले भने ।