“प्रवासमा नेपाली एकता र सांस्कृतिक पहिचानको पर्व: ऐतिहासिक बिसीएच मेला २०२४”

0
64

अर्जुन प्रधान

भूटानी समाज ह्यारिसवर्गद्वारा आयोजित ऐतिहासिक वृहत् सांस्कृतिक “बिसीएच मेला-२०२४” को समापनले नेपाली भाषी भूटानी समाजको सांस्कृतिक विविधता र एकता झल्काएको छ। अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसवर्गमा सम्पन्न यो मेला नेपाली मैन्त्रीभाव र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको थियो।

यस प्रकारको आयोजनाले प्रवासमा रहेका नेपाली र नेपाली भाषी भूटानी समुदायलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्छ। मेलामा नेपालका विभिन्न जातजातिका झाँकी, परम्परागत पोशाक, परिकार, र खेलकुद प्रदर्शन गरिनुले सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा विशेष योगदान पुर्याएको छ। क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, मगर( सबै जात जाति र धर्मलम्विहरू) लगायतका समुदायहरूले आफ्नो सांस्कृतिक धरोहर प्रस्तुत गर्दै विविधतालाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेका थिए।

यो मेला न केवल नेपाली संस्कृति, खाना र मौलिक परिकारहरूको प्रदर्शनी थियो, तर धार्मिक सहिष्णुता र बहुलवादी दृष्टिकोणको पनि प्रतीक थियो। सबै धर्म र जातिका नेपाली भाषीहरूको सहभागिता यस मेलाको महत्त्वपूर्ण पक्ष थियो, जसले समुदायबीचको समन्वय र आपसी सम्मानलाई प्रगाढ बनाएको थियो। मेलामा भएको परेड, तेक्वान्दो , कराटे , नाटक र शैक्षिक गतिबिधि लगायत ब्यवासयिक प्रदर्शनले शारीरिक सक्रियतालाई पनि प्राथमिकता दिँदै विविधतामा अर्को आयाम थप्यो।

यद्यपि, मेलाको सञ्चालन भूटानी समुदायले गरेको भए तापनि यसमा नेपाली बाहेक अन्य समुदायका मानिसहरू पनि आकर्षित भएका थिए। यो प्रवासी समाजले अन्य जातीय समूहहरूलाई नेपाली संस्कृति बुझाउने प्रभावकारी माध्यम बनेको थियो। नि:शुल्क स्वास्थ्य परीक्षण र भोटर रजिस्ट्रेसन जस्ता स्टलहरूले मेलालाई सामाजिक जनचेतनाका लागि पनि महत्त्वपूर्ण बनाए।

मेलाका आयोजक तथा सस्थांका अध्यक्ष तिलक निरौलाले दिएको वक्तव्यले भविष्यमा अझ ठूलो र समावेशी मेला आयोजना गर्ने प्रतिबद्धता देखाउँछ। यस मेलाले प्रवासी नेपाली समाजमा सांस्कृतिक संरक्षण मात्र नभई आपसी मैन्त्रीभाव, सामाजिक सद्भाव, र एकताको सन्देश प्रवाह गरेको स्पष्ट देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here