आईसीसी टी-२० विश्वकप आजबाट अमेरिकामा शुरु 

0
46

आईसीसी टी-२० विश्वकप आजबाट अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा अमेरिका र क्यानाडा भिड्दैछन् ।

वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्दा अमेरिकाले भने पहिलो पटक मौका पाएको हो । अमेरिकामा क्रिकेटलाई लोकप्रिय बनाउने लक्ष्यसहित विश्वकप अमेरिकामा आयोजना गरिएको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको थियो । यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।

सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन् । यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन् । आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन् ।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’मा साविक विजेता इंग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश नेपाल र नेदरल्याण्ड्स रहेका छन् ।

सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । उक्त आठ टोलीलाई सुपर आठमा चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन् ।

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ । यस्तै वेस्ट इन्डिजको सिर भिभिन रिचार्ड स्टेडियममा ८, प्रोभिड़न्स स्टेडियममा एक सेमिफाइनलसहित ६, ड्यारेन स्यामी क्रिकेट ग्राउण्डमा ६,अर्नोस भाले स्टेडियममा ५, ब्रायन लारा क्रिकेट एकेडेमीमा एक सेमिफाइनलसहित ५ र केंसिन्टन ओभलमा फाइनलसहित ९ खेल हुनेछ ।

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्रय, अमेरिका, नेपाल, क्यानाडा, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाएका छन् । अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुपस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी विश्वकपमा फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here