बेलडाँगीमा २१० औं भानु जयन्ती

0
256

बेलडाँगी २९ असार साहित्य परिषद भुटान, नेपाल च्याप्टरको आयोजनामा २१० औं भानु जयन्ती भुटानी शरणार्थी शिविर बेलडाँगीमा भव्यताको साथ मनाइएको छ ।
कार्यक्रमका अध्यक्ष दिल भूटानी र प्रमुख अतिथि चम्पासिंह राईको हस्तबाहुलीबाट दीप प्रज्वालन तथा आदि कवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प गुच्छा अर्पण गरे पछि कार्यक्रम औपचारिक रुपमा उद्घाटन भएको थियो । त्यस पछि क्रमश विशेष अतिथि, अतिथि र सम्पूर्ण उपस्थित महानुभावहरुले पुष्प गुच्छा अर्पण गरी भानुप्रति श्रद्धा सुमन प्रकट गरेका थिए । कवि विरेन मगरले भानुभक्त आचार्यको संक्षिप्त जीवनी प्रस्तुत गरे । मगरले आदि कवि भानुभक्तले नेपाली भाषा र साहित्यमा दिनु भएको योगदानलाई चर्चा गर्दै बालमिकी कृति रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषामा पनि काव्य रचना गर्न सकिने रहेछ भन्ने महत्वपूर्ण जग बसालेको कुरामाथि जोड दिनु भयो ।


प्रमुख अतिथि चम्पासिंह राईले शरणार्थी शिविरमा रहेका विभिन्न समस्याहरुलाई उठाउदै विशेष गरी खाने पानी समस्या जटिल भएको र यसलाई समयमै समाधान गर्नु पर्ने बताउनु भयो । उहाँले यस्ता तमाम समस्याहरुको समाधानका लागि नेपाल सरकारसँग बराम्बर कुरा भइरहेको जानकारी पनि दिनु भयो ।

विशेष अतिथि पूर्ण गुरुङ्गले आफ्नो मन्तव्यको क्रममा भूटानीहरुको ठूलो हिस्सा तेश्रो देश पुनर्वास भइसक्दा पनि भूटानी शरणार्थीहरुको समस्याको समाधान नभएको बताउनु भयो । उहाँले थप्नु भयो, अझै पनि भूटानीहरु आश्रित नै भएर बाँच्न बाध्य छन् । नेपाल सरकारले कुनै किसिमको राहत उपलब्ध गराएको छैन । यस्तो नाजुक अवस्थामा पुनर्वास भएका हाम्रै समुदायले स्थापना गरेका संस्थाहरुको सहयोगमा बाँच्न केही सहज भएको बतादै इन्ट्रा, जिविओ, नक्षेत्र लगायतका संस्थाहरुलाई धन्यवाद दिनु भयो ।


कार्यक्रममा नरबहादुर गुरुङ्ग, तुलसीराम अधिकारी, पदमबहादुर मगर र डम्बरकुमारी काफ्लेले रामायण वाचन गर्नु भएको थियो । विशेष अतिथि याम थुलुङ साथै अन्य श्रष्टाहरु अविलाल राई, रितु बर्देवा, थिरु घिमिरे ‘विकल्प’ र केवल क्षेत्रीले रचना वाचन गरेका थिए । कार्यक्रममा रिफुजी आइडलका विजेता र टप ८ का क्रमश दावा तामाङ र जङगबहादुर दर्जीले सङ्गीतिक प्रस्तुति गरेका थिए । यस कार्यक्रममा बौद्धिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अब्बल साहित्यकारहरु साथै युवा तथा जेष्ठ नागरिकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।


संस्थाका अध्यक्ष गंगा लामिटारेले पठाउनु भएको सन्देश “ न देश जस्तो प्रवास थियो, न प्रवासजस्तो पुनर्वास छ । पुनर्वासमा अवसर र समृद्धिको बाडीले हाम्रो जातीय पहिचान, एकता र सद्भावनाको सम्बन्धलाइ पनि तहस नहस गर्न खोज्दै छ । दुखको कुरा पुनर्वासपछि हामी जातजातमा विभाजित छौ, भाषा र धर्मका नाममा फुटेका छौं । सम्प्रदाय र समृद्धिको नाममा चिरैचिरा भएका छौं । संस्कृति र संस्कारका नाममा छुट्टिदै छौं । भौतिकरूपमा मात्र होइन मानसिक र भावनात्मक रूपमा पनि टुटीसकेका छौं । जसले गर्दा हाम्रो भाषा, संस्कार र सांस्कृस्तिको विरासद बिल्कुलै विलयको सङघारमा पुगेको छ । यसलाइ बेल्डाँगीले नजिकबाट हेरिरहेको छ । बेल्डाँगी पुनर्वासित भूटानीहरूको पुनर्जीवनको थलो मात्र होइन विर्ता पनि हो । तिर्थ र पर्याटन पनि हो । त्यसैले आफ्नो हैसियत र उत्तरदायित्त्व विर्सदै गएका पुनर्वासित समुदायलाइ बेलडाँगीले समय समयमा घच्घच्याउँदै गरोस् भन्ने आग्रह गर्दछु ।“

सञ्चालकले कार्यक्रममा  वाचन गरी सुनाएका थिए । अन्तमा साहित्य परिषद् भूटान, नेपाल च्याप्टर, निर्देशक तथा कार्यक्रमका अध्यक्ष दिल भूटानीले सम्पूर्ण उपस्थित अतिथि गण साथै सहयोगी संघ संस्था र व्यक्तिहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । सो कार्यक्रम तिलक राईले सञ्चालन गरेका थिए ।  

Facebook live from writer Dil Bhutani.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here