अमेरिकासँगको परमाणु हतियार न्यूनीकरणसम्बन्धी सन्धि निलम्बन गर्ने रुसको घोषणा

0
144

काठमाडौं। रुसले अमेरिकासँगको परमाणु हतियार न्यूनीकरणसम्बन्धी सन्धि निलम्बन गर्ने घोषणा गरेको छ । न्यु स्टार्ट नामको सन्धि अमेरिका र रुसबीचको परमाणु हतियारसम्बन्धी अन्तिम सम्झौता हो ।

यसको म्याद २०२१ मा पाँच वर्षका लागि थप गरिएको थियो । तर आज राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्धि निलम्बन गर्ने एकपक्षीय घोषणा गरेका हुन् । सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशले युक्रेनसँगको युद्ध भड्काउने र थप उत्तेजक बनाउने काम गरिरहेको आरोप लगाएका छन् ।

पुटिनले युक्रेनविरुद्धको एक वर्ष लामो युद्धलाई निरन्तर जारी राख्ने दृढतासमेत व्यक्त गरेका छन् । उनले पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धले रुसी अर्थतन्त्रलाई हानि पुर्‍याउन नसकेको दाबी गरे ।

पुटिनले युक्रेनविरुद्धको युद्धमा रुसी सेनाले देखाएको बहादुरीको प्रशंसा गर्नुका साथै सैनिक र उनका परिवारलाई थप सहयोग गरिने प्रतिबद्धता जनाए । उनले युक्रेनलाई लामो दूरीको मार हान्ने थप हतियार आपूर्ति नगर्न पश्चिमा देशलाई चेतावनीसमेत दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनको राजधानी किएभको अप्रत्याशित भ्रमण गरेको भोलिपल्टै पुटिनको यो सम्बोधन आएको हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको वर्षदिन पुग्नै लाग्दा आएको यो सम्बोधनले रुस युक्रेन युद्ध आगामी दिनमा थप आक्रामक र विनाशकारी हुने संकेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here