माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने, प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव

0
188

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्ने तयारी गरेको छ । माघ १२ देखि २१ गतेसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए।

प्रचण्डको प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गरेसँगै पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुने भएको हो । प्रचण्डले संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए। उनले पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन्।

प्रस्तावमा विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडी सारिएको छ । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै नीति र विधिहरू तय गर्ने उल्लेख छ ।

प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकार गरेका छन्। प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास समेत गरेका छन्।

यसका पछाडि आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको उल्लेख छ । 

यस्तै पार्टीले नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा उप-महासचिव जनार्दन शर्मा प्रभाकर नै कायम हुनुहुन्छ भने, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन्। । वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन्।

महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here