नेपाल टी—२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्षः ३ क्रिकेटर पक्राउ

0
188

काठमाडौं। नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । फिक्सिङको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले आज पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको हो ।

अर्का एक जनाको नाम भने प्रहरीले अहिलेसम्म खुलाएको छैन् । आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो ।

टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगिताका केही खेलमा म्याच फिक्सिङको आरोप लागेको थियो ।

स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो । गत महिना काठमाडौंमा भएको लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीको निष्कर्ष छ । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here