देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला, गगन हार्नुको सन्देश के?

0
131

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन्। हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्‍याएर प्रधानमन्त्री बन्ने दाउमा रहेका छन्। आज भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत पाए।

२०५१ सालम दलको नेता बनेपछि ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका देउवा त्यसयता ५ पटक प्रधानमन्त्री भइसकेका छन्। यसपटक संसदीय दलको निर्वाचनमा देउवालाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिएका थिए।

देउवाविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उहाँको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनकालागि बाटो खुला भएको छ ।

देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आएका थिए।

संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताए। सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा प्रतिबद्ध रहेको उल्लेख गरे।

यस्तै संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिएका छन्।

माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले यी विषयमा संस्थागत निणर्य हुनुपर्ने उल्लेख गरे।

गगन हार्नुको शन्देश के?
उम्मेदवारी मनोनयनपछि मंगलबार रातीसम्म गगन थापाको कोर टीमले आफ्नो पक्षमा ३४ सांसद भएको निश्कर्ष निकालेको थियो । युवाप्रतिको आर्कषण बढ्दो भएकाले देउवा पक्षकै युवा सांसदहरुको सर्मथन पनि आफुहरुले पाउनेमा गगन विश्वस्त थिए। तर, निर्वाचनसम्म आईपुग्दा सो अंकगणितले फेल खायो ।

गगनले पुस्तान्तरणको एजेण्डा लिएर चुनाव जित्न चाहनुभएपनि पुस्तान्तरण गर्ने भनि तम्सिएको पुस्ताकै मत पाएनन्। मतदानको समयमा गगन पक्षकै सांसदहरुले मतदान गरेको फोटे खिचेर प्रधानमन्त्री पत्नी आर्जु राणा देउवालाई पठाएपछि गगनले आफ्नो पक्षमा नतिजा नआउने संकेत गरिसकेका थिए।

तर, यस बिषयमा सो पक्षमा छलफल हुन भने बाँकी छ । गगन पक्षलेसंसदीय दलको निर्वाचनमा शेखर-धनराजबाट धोका भएकोप्रारम्भिक समीक्षा गरेको छ भने धनराज पक्षले भने गगन समूहबाट घण्टीका कार्यकर्तामार्फत सांसदको हुर्मत लिएर सिनियर नेताहरूको मानमर्दन भएको आरोप लगाएको छ ।

विश्लेषकहरुले कांग्रेस संसदीय दलको निर्वाचनले कांग्रेसले पुस्तान्तरण र नेतृत्व हस्तान्तरण नरुचाएको संकेत गर्ने बताएका छन्।

विश्लेषक सुर्दशन आचार्यले यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि समेत खतरा भएको बताउदै हरेक पार्टीमा पुस्तान्तरणको आवश्यकता औंल्याए। उनले भने, ‘संस्थापन ईतर पक्षमै देखिएको बेमेलले आगामी दिनमा पार्टीको आन्तरिक लोकतन्त्रको संस्थागत विकासमै असर पुर्‍याउने आशंका जन्माएको छ। यसले नयाँ उदाएका राजनीतिक दलले राजनीतिलाई आफ्नो नियन्त्रणमा लिने सम्भाबना बढ्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here