अर्जेन्टिना विश्वकपको फाइनलमा

0
150

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।

साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here