निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, ४२८५ जना उम्मेदवारको जमानत जफत

0
240

काठमाडौं। निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको चुनावको परिणाम घोषणा गर्नुभएको हो ।

प्रदेशसभाको मतपरिणाम भने पुस २ गते सार्वजनिक गरिनेछ । त्यहि दिन नतिजाको विवरण प्रदेश प्रमुखलाई हस्तान्तरण गरिने थपलियाले बताए।

थपलीयाका अनुसार प्रदेश र प्रतिनिधिसभातर्फ कुल ८२५ सिटमध्ये प्रतिनिधिसभातर्फ १८४ पुरुष तथा ९१ महिला निर्वाचित भएका छन् । यस्तै प्रदेशसभातर्फ साते प्रदेशर्मा ३५० पुरुष तथा २०० महिला निर्वाचित भएका छन् ।

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभातर्फको निर्वाचन परिणामको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताएको छ । प्रतिवेदन पठाईसकेपछि सदस्यहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

निर्वाचनमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् । संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन् । यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनमत पार्टी नयाँ राजनीतिक दलका रुपमा उदाएका हुन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेले कुल ७८ सिट जितेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । जनता समाजवादी पार्टीका १२ जना, यस्तै, नेपाल जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन् ।

नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् । नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् ।

४२८५ जना उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ६१ दलका २ हजार ४ सय १२ उम्मेदवार थिए । त्यस्तै प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए ।

प्रदेशसभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कणर्ाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here