सीमा क्षेत्रमा भएको झडपबारे भारत र चीनको आ-आफ्नै दाबी

0
232

काठमाडौं। गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले सो क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका सेना घाइते भएको जनाइएको थियो । तर चीनियाँ पक्षले भने भारतीय पक्षलाई घटनाको जिम्मेवार रहेको आरोप लगाएको छ ।

आज पहिलोपटक झडपबारे प्रतिक्रिया दिँदै चीनियाँ सेनाका वरिष्ठ अधिकारी तथा वेस्टर्न थिएटर कमांडका प्रवक्ता लाँन्ग शाओहुआले भारतीय सेना अवैध रुपमा विवादित सिमा क्षेत्र पार गरेपछि पेट्रोलिङमा रहेका आफ्ना सैनिकले प्रतिकार गरेको बताएको छ ।

यता भारतले भने घटनाको जिम्मेवार चीनियाँ सेना रहेको भन्दै आफ्नो सैनिकको तारिफ गरेको छ । लोकसभामा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका छन्।

साथै उनले सो मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी गराए। भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर संसद्मा आज विपक्षी सांसदहरुले हङ्गामा गरेका थिए ।

रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोकसभाबाट बाहिरिएका थिए । सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here