विश्वकप फुटवल: इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

0
127

फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा इक्वेडर खेलमा फर्कंदै नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर कप्तान कालिडु कौलीबालीले गोल गर्दै सेनेगललाई अघि बढाए ।

खलिफा रंगशालामा मंगलबार इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे ।

दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।

तर सेनेगलले दुई मिनेटपछि नै पुन: अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए । फ्रिकिकमा रिबाउन्ड भएको बललाई उनले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा गोल गरेका थिए ।

यस समूहबाट नेदरल्यान्ड्स अपराजित रहँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । अन्तिम खेलमा कतारलाई पराजित गर्दै डच टोलीले ३ खेलमा ७ अंक बनायो । सेनेगलले ३ खेलमा २ जितसहित ६ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । इक्वेडर ४ अंकसहित तेस्रो तथा कतार विना कुनै अंक पुछारमा रहयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here