काठमाडौंका ६ नयाँ अनुहार: जो पहिलो पटक संसद् टेक्दैछन्

0
154

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् ।  कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ । 

देशकै राजधानी रहेको काठमाडौंका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौंमा फरक परिणाम देखिएको छ । देशकै बौद्धिक समाज रहेको मानिने काठमाडौंमा प्रत्येक निर्वाचनमा फरक खालका नतिजाहरू आइरहेकै हुन्छन् । 

यस पटकको निर्वाचनमा समेत काठमाडौंले फरक परिणाम दिएको छ । पुराना स्थापित भनिएका राजनीतिक दलहरूलाई टक्कर दिँदै यस पटक यहाँ देशकै कान्छो पार्टी लोभलाग्दो गरी उदाएको छ । Sponsored Content

देशकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौ‌का ४ क्षेत्रमा विजय हासिल गरेको छ । काठमाडौंमा यस पटक कतिपय क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंह यस क्षेत्रबाट पटक पटक सांसद निर्वाचित भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र झिनो मतान्तरले नेता सिंहसँग पराजित भए । 

काठमाडौं क्षेत्र नम्बर २ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित भएकी छन् । पूर्वसभामुख रहेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई हराउँदै गौतम विजयी भएकी हुन् ।

विसं‍ २०५२ असार ३ गते जन्मिएकी गौतम सम्भवतः प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । उनी काठमाडौंका लागि समेत नयाँ अनुहार हुन् । दोलखाको तामाकोशी गाउँपालिकामा जन्मिएकी गौतमले कानूनमा स्नातक गरेकी छन् । 

काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे पनि प्रतिनिधि सभामा नयाँ अनुहार हुन् ।  झण्डै चार दशक राजनीतिमा सक्रिय रहेका चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् । 

यस्तै प्रतिनिधिसभा तर्फ काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित छन् ।यसअघि पनि सांसद निर्वाचित भइसकेका छन् । संघीय सरकारको स्वास्थ्य मन्त्री समेत भइसकेका थापा संसद्का लागि नयाँ अनुहार होइनन् । 

काठमाडौं ५ बाट नेपाली कांग्रेस प्रदीप पौडेल विजयी भएका छन् ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका पौडेल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् ।  लामो समयदेखि राजनीतिमा सक्रिय नेता पौडेल पहिलो पटक संसद टेक्दैछन् । 

यस्तै काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । पूर्व प्रहरी महानिरीक्षक समेत रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई हराउँदै शिशिर विजयी भएका हुन् । खनाल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् । 

काठमाडौं ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश खनाल पनि नयाँ अनुहार  हुन् । नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई पछि पार्दै उनी प्रतिनिधि सचा सदस्य निर्वाचित भएका हुन् । 

काठमाडौं क्षेत्र नम्बर ८ मा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि नयाँ अनुहार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य थिए । प्रतिनिधि सभामा श्रेष्ठ पनि नयाँ अनुहार हुन् । 

यस्तै काठमाडौैं क्षेत्र नम्बर ९ र १० मा भने यस पटक पनि पुरानै अनुहार दोहोरिएका छन् ।  क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै काठमाडौं १० बाट नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् ।  श्रेष्ठ र केसी दुवै जना यसअघि पनि सांसद थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here