आमनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

0
154

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूणर् तयारी पूरा भइसकेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएकाले कसैको डर धम्की र त्रासमा नपरी मतदान गर्न मतदाताहरुलाई आग्रह गरे।

निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रमुख थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाइने, प्रचारप्रसार गर्न नपाइने बताए।

यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन । ती सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ । निर्वाचनको अन्तिम समयमा बढी चलखेल हुँदै आएको छ ।

सत्तामा र सरकारी निकाय नजिक रहेको सरकारी सम्पत्तिको पनि प्रयोग हुँदै आएको छ । मतगणनाको काम नभएसम्म सभा, जुलुश लगायतका प्रचारप्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले चेतावनी दिए।

निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताउदै थपलीयाले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधी कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताएका छन्।

निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे। त्यस्तै, थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे।

निर्वाचनलाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि नै नेपाल-भारत सीमानाका बन्द गरिँदैछ । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय गरिएको छ । यस्तै आजबाट चार दिन जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको रेल सेवा पनि बन्द हुने भएको छ ।

आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here