काठमाडौँ- निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदानस्थल कायम गरेको छ ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको हो । ‘२०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको हो,’ आयोगले भनेको छ ।’
यसअघि देशभर १० हजार ७५६ मतदान स्थल रहेको र त्यसमा पुनरावलोकन गरिएको आयोगले जनाएको हो । ‘मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ,’ आयोगले भनेको छ ।